महासङ्घका थप तीन विषयगत समिति गठन
राष्ट्रिय समाचार समिति

श्रावण १८, २०८३

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन् । महासङ्घका अनुसार यसअघि आठ वटा समितिले पूर्णता पाइसकेकामा बैंक, फाइनान्स तथा बिमा समिति, मेला समिति र पर्यटन तथा हवाई यातायात समिति विस्तार भएका हुन् ।
महासङ्घको सचिवालय टेकुमा आज आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त उपसभापति, सदस्य तथा सल्लाहकारलाई मनोनयनपत्र हस्तान्तरण गर्नुभयो । उहाँले विषयगत समिति निजी क्षेत्रका समस्या, सम्भावना र आवश्यकताको पहिचान गर्ने महत्वपूर्ण संयन्त्रका रूपमा रहेका बताउनुभयो ।
अध्यक्ष वैद्यले समितिलाई आफ्नो क्षेत्रसँग सम्बन्धित समस्या र नीतिगत विषयमा अध्ययन गरी महासङ्घमार्फत सरकारसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न आग्रह गर्नुभयो । निजी क्षेत्रको सशक्तीकरण, आर्थिक समृद्धि, नीति निर्माणमा सहजीकरण तथा लगानीमैत्री वातावरण निर्माणमा समितिको भूमिका महत्वपूर्ण रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले समिति महासङ्घका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने आधारका रूपमा रहेका बताउँदै सम्बन्धित क्षेत्रका व्यवसायीका समस्या पहिचान गरी समाधानका लागि प्रभावकारी पहल गर्न आग्रह गर्नुभयो । कोषाध्यक्ष मनीषलाल प्रधानले निजी क्षेत्र, सरकार र सरोकार भएका निकायबीच समन्वय बढाउन समितिले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो ।
बैंक, फाइनान्स तथा बिमा समितिका सभापति हेमन्त गोल्छाले बैंक तथा वित्तीय क्षेत्रमा सहज पहुँच, ब्याजदर स्थिरता, तरलता व्यवस्थापन र निजी क्षेत्रमैत्री नीति निर्माणमा समिति सक्रिय रहने बताउनुभयो । मेला समितिका सभापति सविन श्रेष्ठले व्यापार मेला तथा प्रदर्शनीलाई व्यवस्थित, गुणस्तरीय र अन्तरराष्ट्रियस्तरको बनाउँदै स्वदेशी उत्पादनको प्रवर्द्धन र बजार विस्तारमा जोड दिने बताउनुभयो ।
पर्यटन तथा हवाई यातायात समितिका सभापति सङ्घर्ष विष्टले पर्यटन क्षेत्रको पुनरुत्थान, हवाई यातायातको सहजता, पर्यटन पूर्वाधार विकास र नीतिगत सुधारका लागि सरकारसँग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासङ्घमा विभिन्न २५ वटा विषयगत समिति रहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग

राष्ट्र बैङ्क ऐनमा ‘डिजिटल करेन्सी’

महासङ्घका थप तीन विषयगत समिति गठन

इञ्जिनियरको भूमिकामा पूर्वाधार विकास र गुणस्तर निर्भर रहन्छ : मन्त्री श्रेष्ठ

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति