काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि काम गरिरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठकमा उहाँले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि मन्त्रालयका विभिन्न महाशाखाले काम गरिरहेको बताउनुभएको हो ।
परराष्ट्रमन्त्री खनालले भन्नुभयो, “द्विपक्षीय रणनीतिलाई बलियो बनाउने गरी काम भइरहेको छ । उक्त रणनीतिमार्फत नेपालले सम्बन्धित मुलुकबाट कसरी अधिकतम लाभ लिन सक्छ भन्ने हिसाबले काम गर्नेछौँ ।” मन्त्रालयले सम्बन्धित मुलुकसँग निश्चित प्राथमिकताका क्षेत्र पहिचान गरी त्यसलाई केन्द्रमा राखेर रणनीतिक योजनामा काम गरिरहेको उहाँले बताउनुभयो ।
परराष्ट्रमन्त्री खनालले विदेशमा बसोबास गर्ने नेपालीको यकिन सङ्ख्या उपलब्ध नहुँदा नीति तथा योजना निर्माण र कार्यान्वयनमा कठिनाइ भइरहेको उल्लेख गर्नुभयो । त्यसका लागि अभियान सञ्चालन गरेर विदेशमा रहेका नेपालीको सङ्ख्या यकिन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मन्त्रालयमा आयोजित उक्त बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्ट, परराष्ट्र सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0