धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ मा साउन २१ र २२ गते ‘जनतासँग मेयर’ कार्यक्रम अन्तर्गत ३) वर्ष भन्दा माथिका नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुने भएको छ ।
सदरमुकाम धादिङबेसीमा संचालित एम.सी.एफ क्लिनिकको प्राविधिक सहयोगमा वडा भित्रका विभिन्न टोल बस्तीमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको वडा नम्बर ३ का वडाअध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
साउन २१ गते नीलकण्ठ–३ को दहीचौतारा, शीतलबजार र साउन २२ गते नीलकण्ठ ३ कै डाँडागाँउस्थित चैनपुरमा स्वास्थ्य परीक्षण संचालन हुने छ । दुवै स्थानमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ३) वर्षभन्दा माथिका सबै नागरिकलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई निःशुल्क स्वास्थ्य परीक्षण सेवाको लाभ लिन वडा कार्यालयले अनुरोध गरेको छ ।
वडाले विगतका वर्षहरूमा पनि अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरूको घरघरमा पुगेर स्वास्थ्य परीक्षण, छालारोग सम्बन्धी शिविरलगायत विभिन्न शिविर सञ्चालन गरेको थियो ।