दिगो शान्ति, निःशस्त्रीकरण र विकासको आवश्यकतामा जोड
राष्ट्रिय समाचार समिति

श्रावण २१, २०८३

काठमाडौँ। विश्व शान्ति र आर्थिक समृद्धिका लागि दिगो शान्ति, निःशस्त्रीकरण र विकासको आवश्यकतामा जोड दिइएको छ । ८१औँ हिरोसिमा दिवस र नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका अवसरमा हिरोसिमा युनिभर्सिटी स्कोलर्स एल्मुनाई नेपाल (हिउसान) र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले विश्वमा भइरहेका भू-राजनीतिक तनाव, युद्ध र आणविक शक्तिराष्ट्रहरू बीचको भिडन्तले मानव सभ्यतालाई पुनः जोखिममा पार्नसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
सन् १९४५ अगष्ट ६ का दिन जापानको हिरोसिमा सहरमा खसालिएको आणविक बमबारीले भएको मानवीय, भौतिक र वातावरणीय क्षतिको स्मरणमा आयोजना गरिएको कार्यक्रममा अहिले पनि विश्व आणविक त्रासदीबाट मुक्त हुन नसकेको भन्दै सहभागीहरूले दिगो शान्ति, निःशस्त्रीकरण र विकासको आवश्यकतामा जोड दिनुभयो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नाष्ट)का उपकुलपति प्रा डा जनार्दन लामिछानेले हिरोसिमा दिवसले विश्व समुदायलाई युद्ध होइन शान्ति र विनास होइन विकास चाहिन्छ भन्ने सन्देश दिएको बताउनुभयो ।
काठमाडौँ विश्वविद्यालयका डीन प्रा मनिष पोखरेलले वर्तमान समयमा पनि विश्वयुद्धको त्रासदीपूर्ण अवस्थाबाट विश्वसमुदाय मुक्त हुन नसकेको भन्दै यसले मानव सभ्यतामाथि गम्भीर प्रश्नचिन्ह उत्पन्न गरेको धारणा राख्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारीले जापानको हिरोसिमा र नागासाकी सहरमा भएकोजस्ता विनाशकारी कार्यलाई निरुत्साहित गर्दै विश्वजगत शान्ति र समृद्धिमा लाग्नुपर्ने आवश्यकता बढ्दै गएको बताउनुभयो ।
जाइका इल्मुनाई एशोसिएसन नेपालका अध्यक्ष डा रामचन्द्र भुसालले जापानसँगको कूटनीतिक सम्बन्ध स्थापना भएको सात दशकमा पूर्वाधार  विकासमा जापान सरकारको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यसलाई अझ फराकिलो बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
हिउसानका अध्यक्ष डा रञ्जनप्रकाश श्रेष्ठले नेपाल–जापानबीचको सम्बन्धलाई जनस्तरमा पुर्‍याउन र विश्व शान्तिको सन्देश दिन हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरिँदै आइएको बताउनुभयो ।
सो अवसरमा संस्थाका सचिव बबुल खनाल र कोषाध्यक्ष गीता घिमिरे, स्पटलाइट पत्रिकाका सम्पादक केशव पौडेलले आणविक अन्वेषणलाई विनास होइन, विकास र समृद्धिमा उपयोग गर्नुपर्नेमा जोड दिँदै यो वर्ष ‘विश्व शान्ति, शिक्षा र विकासः दिगो भविष्यका मार्गहरू’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री

खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा पाँच सय बढी रोहिङ्ग्या नेपाल छिरे

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति