आयोत्जिनापा मुद्दामा पूर्व गभर्नर पक्राउ
राष्ट्रिय समाचार समिति

श्रावण २२, २०८३

मेक्सिकोमा सन् २०१४ मा ४३ जना विद्यार्थी बेपत्ता भएको चर्चित आयोत्जिनापा प्रकरणमा प्रमाण लुकाउने र अनुसन्धानलाई प्रभावित पार्ने आरोपमा तत्कालीन ग्युरेरो राज्यका पूर्वगभर्नर एन्जेल अगुइरे पक्राउ पर्नुभएको छ । यो घटनालाई मेक्सिकोको भ्रष्टाचार, दण्डहीनता र जबर्जस्ती बेपत्ता पार्ने प्रवृत्तिको सबैभन्दा प्रतीकात्मक घटनामध्ये एक मानिन्छ ।
सामान्य अभियोजक अर्नेस्टिना गोडोयका अनुसार अगुइरेले सरकारी कर्मचारी र उच्च तहका राज्य अधिकारीहरूको संलग्नतामा घटनासम्बन्धी प्रमाण लुकाउन निर्देशन दिनुभएको थियो । उहाँले उक्त कार्य कुनै व्यक्तिगत निर्णय नभई राज्य कार्यकारी तहबाट योजनाबद्ध रूपमा सञ्चालन गरिएको ढाकछोप अभियानको हिस्सा रहेको बताउनुभयो ।
आयोत्जिनापा ग्रामीण शिक्षक कलेजका ४३ जना विद्यार्थी सन् २०१४ सेप्टेम्बर २६ मा मेक्सिको सिटीमा हुने प्रदर्शनमा सहभागी हुन ग्युरेरो राज्यबाट यात्रा गरिरहेका बेला इगुआला सहरमा स्थानीय प्रहरीले उनीहरूलाई रोकेको थियो । त्यसपछि भएको घण्टौँ लामो हिंसात्मक झडपमा छ जनाको मृत्यु भएको थियो भने ४३ जना विद्यार्थी बेपत्ता भएका थिए ।
घटनापछि सरकारी अधिकारी, प्रहरी र अन्य व्यक्तिसहित दर्जनौँलाई पक्राउ गरिए पनि हालसम्म तीन जना विद्यार्थीको मात्र अवशेष फेला परेको छ । बाँकी ४० जनाको अवस्था अझै अज्ञात छ ।
सत्तरी वर्षीय अगुइरेले उक्त घटनापछि सन् २०१४ मै बिदा लिएर आफ्नो कार्यकाल समाप्त हुनुअघि पद त्याग गर्नुभएको थियो ।
पूर्वराष्ट्रपति एनरिक पेना निएटो नेतृत्वको सरकारले गरेको प्रारम्भिक अनुसन्धानले स्थानीय अधिकारी र लागुऔषध तस्करहरूको संलग्नतामा विद्यार्थीहरूको हत्या गरी शव जलाइएको निष्कर्ष निकालेको थियो । तर त्यसपछिको सरकारले पुनः अनुसन्धान गर्दै घटनालाई ‘राज्य अपराध’ को संज्ञा दिएको थियो । सो अनुसन्धानले स्थानीय प्रहरी र आपराधिक समूहबीचको मिलेमतोमा विद्यार्थीहरूमाथि आक्रमण भएको निष्कर्ष प्रस्तुत गरेको थियो ।
पीडित परिवारले लामो समयदेखि मेक्सिकोको सेनासमेत घटनामा संलग्न रहेको आरोप लगाउँदै आएका छन् । सन् २०२२ मा एक जना जनरलसहित तीन सैनिकलाई पक्राउ गरिएको थियो भने सन् २०२३ मा स्वतन्त्र अनुसन्धान आयोगले सेनाले महत्त्वपूर्ण प्रमाण लुकाएको आरोप लगाएको थियो ।
हाल यो बहुचर्चित आयोत्जिनापा मुद्दा राष्ट्रपति क्लाउडिया सेनबाम नेतृत्वको सरकारको जिम्मेवारीमा रहेको छ । उहाँले सत्य पत्ता लगाउने, न्याय सुनिश्चित गर्ने र बेपत्ता विद्यार्थीहरूको अवस्थाबारे वास्तविकता सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री

खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा पाँच सय बढी रोहिङ्ग्या नेपाल छिरे

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति