ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदानः उपराष्ट्रपति यादव
राष्ट्रिय समाचार समिति

श्रावण २४, २०८३

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान र बलिदान रहेको बताउनुभएको छ ।
बत्तीसौँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालयद्वारा आज काठमाडौँको टुँडिखेलस्थित खुलामञ्चमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले आन्दोलनमा योगदान गरेकैले त्यसको मर्म संविधान र राज्यव्यवस्थामा पनि समेटिएको बताउनुभयो । नेपालको संविधानको मूल मर्म समावेशी लोकतन्त्र, सामाजिक न्याय तथा समान अवसर रहेकाले हातेमालो गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको प्राप्ति आदिवासी जनजातिको अधिकार प्राप्तिको सङ्घर्षसँग गहिरो रूपमा जोडिएको उपराष्ट्रपति यादवको भनाइ थियो । संविधानले आदिवासी जनजाति, मधेसी, सीमान्तकृत तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गरिसकेकाले अब तिनको व्यावहारिक कार्यान्वयन आजको मुख्य आवश्यकता रहेको उहाँले औँल्याउनुभयो ।
“समावेशिता केबल नारामा सीमित नभई राज्यका नीति, योजना, स्रोत र साधनका साथै शिक्षा, स्वास्थ्य, रोजगारी र निर्णय प्रक्रियाका हरेक तहमा समानुपातिक पहुँचका रूपमा देखिनुपर्छ”, उपराष्ट्रपति यादवले भन्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्दै लैजानसके मुलुकले हरेक क्षेत्रमा सकारात्मक फड्को मार्ने विश्वास व्यक्त गर्दै उहाँले यसतर्फ सबैको ध्यान केन्द्रित हुन जरुरी रहेको बताउनुभयो ।
यस्तै, प्रकृतिसँग मिलेर बाँच्ने आदिवासी समुदायको परम्परागत ज्ञान, सीप र संस्कृति जलवायु परिवर्तन तथा वातावरणीय सन्तुलनका लागि आज विश्वकै लागि अनुकरणीय बनेको उपराष्ट्रपति यादवले उल्लेख गर्नुभयो । नयाँ पुस्ताले आफ्नो मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै शिक्षा, विज्ञान र प्रविधिको आधुनिक प्रयोगमार्फत अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो ।
सबै जातजाति, वर्ग र समुदायको साझा प्रयासबाट मात्र नेपाल सुन्दर, शान्त र उन्नत बन्नसक्ने उल्लेख गर्दै उपराष्ट्रपति यादवले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदिवासी जनजाति दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदानः उपराष्ट्रपति यादव

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

माडी जाने सडकको झाडी सफाइ गरिँदै

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति