काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नागरिकलाई आफ्नै मातृभाषामा सूचना र समाचार पुर्याउनु लोकतन्त्रको सुदृढीकरणका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ।
काठमाडौँमा सुरु भएको ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०२६’ लाई सम्बोधन गर्दै मन्त्री गौतमले नेपाल बहुजातीय, बहुभाषी र बहुसांस्कृतिक मुलुक भएकाले राज्यका हरेक गतिविधिबारे नागरिकलाई सुसूचित गराउन मातृभाषाका पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
जबसम्म राज्यका सूचनाहरू नागरिकले आफ्नै आमाले सिकाएको भाषामा प्राप्त गर्दैनन्, तबसम्म लोकतन्त्र बलियो र समावेशी हुन सक्दैन, उहाँले भन्नुभयो।
मन्त्री गौतमले दुर्गम तथा पछाडि पारिएका क्षेत्रका नागरिक अझै पनि मूलधारका सूचनाको पहुँचबाट टाढा रहेको स्वीकार्दै त्यो दुरी मेट्न मातृभाषाका पत्रकारहरूले अग्रणी भूमिका खेलिरहेको बताउनुभयो। हाम्रा भाषा, संस्कृति र ज्ञानलाई जीवन्त राख्न पत्रकारिता बलियो माध्यम हो। घर वा संग्रहालयमा सीमित राखेर भाषा संरक्षण हुन सक्दैन, यसलाई आमसञ्चारका माध्यमबाट दैनिक प्रयोगमा ल्याउनुपर्छ, उहाँको भनाइ थियो।
मातृभाषा पत्रकारिताको प्रवर्द्धन र संरक्षणका लागि सरकारको तर्फबाट गर्नुपर्ने ठोस कार्यहरूका सुझाव बुँदागत रूपमा पेस गर्न पत्रकारहरूलाई आग्रह गर्दै मन्त्री गौतमले प्राप्त सुझावका आधारमा आवश्यक नीतिगत तथा कानूनी सहयोग गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको आश्वासनसमेत दिनुभयो।
फोनिजको आयोजनमा काठमाडौँमा सञ्चालित सम्मेलनमा देशभित्र र बाहिरका मातृभाषाका पत्रकार तथा सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको छ।