काठमाडौँ । प्रतिनिधि सभा सदस्य क्षितिज थेवेले आदिवासी जनजातिको परम्परागत सीप, कला र संस्कृतिमा लगानी बढाए आगामी पाँच वर्षभित्र देशको अर्थतन्त्र मजबुत र आत्मनिर्भर हुने बताउनुभएको छ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजनामा काठमाडौँमा सुरु भएको ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०२६’ लाई सम्बोधन गर्दै सांसद थेवेले आदिवासी जनजातिको सीप र मौलिक ज्ञानलाई पछाडि परेको नभई ठूलो आर्थिक अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।
हाम्रो देशको परनिर्भर अर्थतन्त्रलाई उत्पादनमुखी र दर्बिलो बनाउन अब जनजातिको सीप र मौलिक उत्पादनमा लगानी गर्ने समय आएको छ, उहाँले भन्नुभयो, आदिवासी जनजातिको सीप, श्रम र कलालाई आधुनिक प्रविधि र लगानीसँग जोड्न सके नेपालको अर्थतन्त्रले फड्को मार्नेछ।
यसैगरी, सांसद थेवेले आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति, इमानदारिता र नैतिक जीवनशैली विश्वका लागि नै एक दुर्लभ र अनुकरणीय सम्पत्ति भएको बताउनुभयो। घर र विद्यालयमा बोलेर मात्र भाषा र संस्कृतिको संरक्षण नहुने भन्दै उहाँले आमसञ्चारका माध्यमबाट यसलाई व्यापक बनाउनुपर्ने धारणा राख्नुभयो।
आधुनिक प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स र जलवायु परिवर्तन जस्ता वैश्विक विषयहरूसँग आदिवासी जनजातिको ज्ञान र पत्रकारितालाई जोडेर अगाडि बढ्न उहाँले फोनिजलाई आग्रह गर्नुभयो। सांसद थेवेले आदिवासी जनजातिका सवाल, भाषा–संस्कृति र अधिकारका आवाजलाई संसद्मा निरन्तर उठाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।