बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो नेतृत्वको सरकारले सुशासनसँगै प्रदेशको समग्र विकासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभएको छ । बागमती प्रदेशसभाको आजको बैठकमा उहाँले सरकारले आर्थिक पारदर्शितासँगै सुशासन अभिवृद्धि र पूर्वाधार विकासमा सकारात्मक प्रगति हासिल गरिरहेको उल्लेख गर्नुभयो ।
सरकारले चालु खर्च घटाउने क्रममा १४ मन्त्रालयलाई आठ वटा कायम गरी यसै आर्थिक वर्षदेखि लागू गरेको बताउँदै उहाँले प्रशासनिक पुनःसंरचना गर्दा निजामति कर्मचारीको तलबभत्ता २० प्रतिशतले वृद्धि गर्दा पनि गत आर्थिक वर्षको तुलनामा पाँच प्रतिशत कम हुनेगरी बजेट विनियोजन भएको जानकारी गराउनुभयो ।
मितव्ययिता अपनाउने क्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् सदस्यको सेवासुविधा कटौती गरिएको मुख्यमन्त्री बानियाँले बताउनुभयो । उहाँका अनुसार मुख्यमन्त्रीको सेवासुविधाबाट मकवानपुरका मनहरी गाउँपालिका-९ की दलित, एकल महिला मिठुमायाँ सुनार र कैलाश गाउँपालिका(४ का अतिविपन्न चेपाङ समुदायका लालकुमार प्रजाको घर निर्माण गरी हस्तान्तरण गरिएको जनाउँदै राक्सिराङ्ग गाउँपालिका-१ का अतिविपन्न चेपाङ समुदायका सुमनसिं चेपाङको घर निर्माणको क्रममा रहेको बताउनुभयो ।
जेनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाको समयमै मर्मत सम्भार तथा पुनःनिर्माण गरी दैनिक सेवा सञ्चालन गरिएको मुख्यमन्त्री बानियाँले बताउनुभयो । बजेट विनियोजनका क्रमलाई सुधार गरी टुक्रे, साना योजना घटाइ २४ हजार योजना सङ्ख्याबाट १३ हजारमा कायम गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रदेशको प्रशासनिक भवन निर्माणका लागि सङ्घीय सरकारमार्फत जग्गा प्राप्ती गरी रुख कटान सुरु गरिसकेको र निर्माण प्रक्रिया अगाडि बढेको जानकारी दिँदै उहाँले प्रदेश प्रशासनिक पुनःसंरचना समिति गठन तथा प्रतिवेदन प्राप्त गरी कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । उहाँका अनुसार प्रदेश गौरवका आयोजनाका रूपमा रहेको हेटौँडाको गौरीटार र ललितपुरको गोदावरी रङ्गशालालाई बहुवर्षीय योजना निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
पहिले मर्मत, त्यसपछि नयाँ सडक निर्माण नीतिको व्यवस्था गरी सडक पुनःनिर्माणलाई प्राथमिकता दिइएको बताउँदै मुख्यमन्त्री बानियाँले जनताको गुनासो सुन्न ‘हेलो सिएम पोर्टल’ मुख्यमन्त्री कार्यालयमा स्थापना गरिएको जानकारी दिनुभयो ।
‘विपन्नलाई छात्रवृत्ती कार्यक्रम’ अन्तर्गत विशेषज्ञ चिकित्सक, भेटेरिनरी चिकित्सक, स्टाफ नर्स, इन्जिनियर, जेटिएलगायतलाई कार्यविधि बनाई छात्रवृत्ति दिन सुरुवात गरिएको, युवा स्वरोजगार तथा आधारभुत विद्यालयमा सूचना प्रविधि (आइटी) शिक्षाका लागि ‘मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रम’लाई बजेट व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने उद्देश्यले मुख्यमन्त्री सडक उद्धमशीलता कार्यक्रमलाई बजेट व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्तरीकरणका लागि बजेट व्यवस्थापनका साथै चिकित्सा शास्तमा स्नातक तथा स्नातकोत्तर अध्ययनअध्यापन तथा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको बताउँदै उहाँले मानव सेवा आश्रमलाई रु पाँच करोडको अक्षय कोष र रु तीन करोड वार्षिक बजेट व्यवस्थापन गरिएको जानकारी दिनुभयो । सहकारी पीडितको रकम फिर्ता सुरु गरिएको उहाँले बताउनुभयो ।
‘एक निर्वाचन क्षेत्र, एक प्रमुख पर्यटकीय गन्तव्य’का लागि बजेट ब्यवस्थापन, श्रमजीवि पत्रकारको स्वास्थ्य बिमा कार्यक्रमलाई बजेट व्यवस्था गरिएको मुख्यमन्त्री बानियाँले बताउनुभयो । प्रदेशभित्रका विपन्न, दलित तथा सीमान्तकृत परिवार लक्षित एक हजार आवास निर्माण गरी गरिखानका लागि सीप र पुँजी हस्तान्तरण गरी गरिबमुखी कार्यक्रमका लागि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
सम्बोधनका क्रममा मुख्यमन्त्री बानियाँले यसअघि सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समर्थन फिर्तासहित सरकारबाट बाहिरिएको अवस्थामा नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्दै मुख्यमन्त्री पदबाट राजिनामा दिएको पनि जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0