क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो
सम्बाददाता

भदौ ३, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली सामानमा लगाउने तयारी गरिएको ५० प्रतिशत शुल्क तीन दिनका लागि स्थगित गर्नुभएको छ । अमेरिका र क्यानाडाबीच व्यापार सम्झौताको अन्तिम दस्तावेज तयार पार्ने काम भइरहेकाले शुल्क कार्यान्वयन केही दिन पछि सारिएको उहाँले बताउनुभएको छ ।
शुल्क बुधबारदेखि लागू गर्ने तयारी गरिएको थियो । त्यसको केही घन्टाअघि मङ्गलबार दिउँसो ट्रम्पले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग तत्काल वार्ता गर्नुभएको थियो । त्यसपछि सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले अमेरिका र क्यानाडाबीच दस्तावेजलाई अन्तिम रूप दिन बाँकी रहेको अवस्थामा सम्झौता भइसकेको उल्लेख गर्दै शुल्क स्थगित गरिएको जानकारी दिनुभएको हो ।
दुवै नेताबीच सोमबार पनि कुराकानी भएको थियो । त्यसपछि प्रधानमन्त्री कार्नीले वार्ता निकै ‘गम्भीर र संवेदनशील’ चरणमा पुगेको बताउनुभएको थियो । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले सामाजिक सञ्जाल एक्समा अमेरिका–क्यानाडा समझदारीमा अमेरिकी सामानका लागि व्यापक बजार पहुँच, आर्थिक सुरक्षासम्बन्धी प्रतिबद्धता र डिजिटल व्यापारमा समन्वयलगायत विषय समेटिएको जनाएको छ ।
कार्यालयका अनुसार क्यानाडाले अमेरिकी सामानमाथि गरिएको भेदभाव वा अनुचित तथा असमान व्यवहार हटाउने प्रतिबद्धता व्यक्त गरेपछि शुल्क स्थगित गरिएको हो ।
ह्वाइट हाउसले क्यानाडाले अमेरिकी मदिरा, मोटरगाडी र दुग्धजन्य उत्पादनमाथि ‘भेदभावपूर्ण व्यवहार’ गरेको आरोप लगाउँदै गत महिना ट्रम्पले ५० प्रतिशत शुल्क लगाउने आदेशमा हस्ताक्षर गर्नुभएको थियो । प्रस्तावित शुल्क वाइन, हक्की स्टिक र सिमेन्टलगायत क्यानाडाली उत्पादनमा लागू हुने थियो ।
अक्सफोर्ड इकोनोमिक्सका अनुसार प्रस्तावित शुल्कले क्यानाडाबाट अमेरिकामा हुने निर्यातको करिब ५।५ प्रतिशत अर्थात् लगभग २० अर्ब अमेरिकी डलर बराबरको व्यापार प्रभावित हुने थियो । शुल्कले क्यानाडाको समग्र अर्थतन्त्रमा सामान्य नकारात्मक प्रभाव पार्ने भए पनि मध्य क्यानाडाको उत्पादन क्षेत्रमा भने गम्भीर असर पर्ने अनुमान गरिएको छ ।
नयाँ शुल्कबाट जोगिन तथा ट्रम्प प्रशासनले क्यानाडाको अटोमोबाइल, इस्पात, काठ र एल्युमिनियम उद्योगमा लगाउँदै आएका क्षेत्रगत शुल्कबाट राहत पाउन क्यानाडाली वार्ताकारहरू वासिङ्टनमा छलफल गरिरहेका छन् । क्यानाडाली सञ्चारमाध्यमका अनुसार ओटावाले अमेरिकी मदिरा तथा वाइनमाथिको प्रतिबन्ध हटाउन प्रान्तहरूलाई आग्रह गर्नेलगायतका छुट दिने प्रस्ताव अघि सारेको छ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा रोकिएको विवादास्पद ‘किस्टोन एक्सएल’ पाइपलाइन परियोजना पुनः अघि बढ्न सक्ने सङ्केतसमेत दिनुभएको छ । वातावरणीय अभियन्ताहरूले लामो समयदेखि विरोध गर्दै आएको उक्त परियोजना बाइडेन प्रशासनले वातावरणीय कारण देखाउँदै अघि बढ्न दिएको थिएन ।
पूर्व अमेरिकी वाणिज्य अधिकारी क्रिस्टोफर पादिलाका अनुसार व्यापार वार्तामा समयसीमा नजिकिँदा अन्तिम समयमा यस्ता घटनाक्रम देखिनु असामान्य होइन । उहाँले अमेरिका–मेक्सिको–क्यानाडा स्वतन्त्र व्यापार सम्झौता ९युएसएमसिए० को पुनरावलोकन तथा नवीकरणका क्रममा ट्रम्प प्रशासनले क्यानाडाबाट प्रारम्भिक सहुलियत लिन शुल्कको धम्कीलाई वार्ताको दबाबका रूपमा प्रयोग गर्ने सम्भावना रहेको बताउनुभएको छ ।
अक्सफोर्ड इकोनोमिक्सले सिमेन्ट, कागज, मुद्रण, काठ, कपडा तथा विद्युतीय उपकरण उत्पादकलाई प्रस्तावित शुल्कबाट सबैभन्दा बढी असर पर्ने क्षेत्रका रूपमा औँल्याएको छ ।
अमेरिकी सर्वोच्च अदालतले यसै वर्षको सुरुआतमा ट्रम्प प्रशासनले विश्वभरका सामानमा लगाएका धेरै शुल्क खारेज गरेपछि क्यानाडालाई लक्षित नयाँ शुल्कका लागि प्रशासनले फरक कानूनी प्रावधान प्रयोग गरेको थियो । प्रस्तावित शुल्क क्यानाडाली ऊर्जा, पोटास र यसअघि नै क्षेत्रगत शुल्क लागिरहेका केही सामानमा भने लागू नहुने जनाइएको छ । यद्यपि युएसएमसिएअन्तर्गत पर्ने अन्य क्यानाडाली उत्पादन प्रभावित हुने थिए ।
ट्रम्प प्रशासनका व्यापार प्रतिनिधि जेमिसन ग्रियरले यसअघि अमेरिकी सामानमाथि क्यानाडाले गरेको प्रतिशोधात्मक कदमको जवाफ दिन शुल्क लगाइएको बताउनुभएको थियो । उहाँका अनुसार क्यानाडाका विभिन्न प्रान्तले अमेरिकी मदिरा पसलका तख्ताबाट हटाएका छन् भने युरोपेली सङ्घबाट आयात हुने दुग्धजन्य उत्पादनलाई समेत क्यानाडाली बजारमा थप पहुँच दिइएको छ ।
अमेरिका र क्यानाडाबीचको वार्ता अबको तीन दिनमा अन्तिम रूप लिने वा शुल्क पुनः कार्यान्वयन हुने भन्ने विषयमा केन्द्रित हुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ

यो पनि पढ्नुहोस
सम्बाददाता