धादिङ । तिज नजिकिँदै गर्दा नेपाली संगीत बजारमा विभिन्न शैलीका गीतहरू सार्वजनिक भइरहेका छन्। यही भीडमा धादिङकी चेली सम्झना अर्यालको शब्दमा तयार भएको मौलिक तिज गीत ‘तिज आउँदा माईत गइन्थ्यो’ ले फरक स्वाद र आत्मीय भावनाका कारण दर्शकको ध्यान तानिरहेको छ।
हाल अमेरिकामा बस्दै आएकी अर्यालले परदेशमा रहेर अनुभव हुने घरदेशको सम्झना, माइतीप्रतिको माया र तिजका पुराना स्मृतिलाई गीतका शब्दमा उतारेकी छन्। गीत सुन्दा विशेषगरी विदेशमा रहेका नेपाली महिलाले आफ्नै भावना शब्दमा पोखिएको अनुभूति गर्न सक्ने खालको प्रस्तुति देखिन्छ।
‘तिज आउँदा माईत गइन्थ्यो’ मा चमकधमक र अनावश्यक तडकभडकभन्दा सरल शब्द, पारिवारिक सम्बन्ध र मौलिक संस्कृतिलाई प्राथमिकता दिइएको छ। गीतले मौलिक शब्दमा लेखिएको सिर्जना पनि दर्शकको रोजाइमा पर्न सक्छ र बजारमा आफ्नो छुट्टै स्थान बनाउन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
धादिङमा जन्मिएर हाल अमेरिकालाई कर्मथलो बनाएकी सम्झना अर्यालले आफ्नो सिर्जनामार्फत जन्मभूमिसँगको सम्बन्धलाई निरन्तर जोडिरहेकी छन्। विदेशमा रहेर नेपाली चाडपर्व, संस्कार र पारिवारिक भावनालाई गीतमार्फत प्रस्तुत गर्नु धादिङका लागि समेत गर्वको विषय बनेको छ।
गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ। संगीत, एरेन्जर तथा मिक्सिङ बिबि अनुरागीले गर्नुभएको छ। भिडियो निर्देशक मिराज अर्याल हुनुहुन्छ भने निर्माता श्याम नेपाल हुनुहुन्छ। भिडियोको सम्पादन तथा ख्ँह् पनि मिराज अर्यालले नै गर्नुभएको छ।
गीतका दृश्यहरूले पनि शब्दको भावलाई सहज रूपमा साथ दिएका छन्। तिजसँग जोडिएको पारिवारिक आत्मीयता, सम्झना र नेपालीपनलाई प्रस्तुतिमा प्राथमिकता दिइएको छ, जसले गीतलाई केवल सुन्ने मात्र नभई अनुभूति गर्ने सिर्जनाका रूपमा अघि सारेको छ।
सार्वजनिक भएसँगै गीतले युट्युब तथा सामाजिक सञ्जालमा राम्रो चर्चा पाउन थालेको छ। दर्शकबाट मौलिक शब्द, भावनात्मक स्वर र सरल प्रस्तुतिको प्रशंसा भइरहेको छ।
पछिल्लो समय नेपाली गीत–संगीतमा मौलिकता कम हुँदै गएको गुनासो सुनिने गरेको अवस्थामा ‘तिज आउँदा माईत गइन्थ्यो’ जस्ता सिर्जनाले नेपाली समाजका वास्तविक भावना र संस्कृतिसँग जोडिएका विषय अझै पनि दर्शकका लागि उत्तिकै प्रिय छन् भन्ने देखाएको छ।
अमेरिकामा बसेर पनि नेपाली माटो र माइतीको सम्झनालाई शब्दमा जीवित राखेकी सम्झना अर्यालको यो सिर्जनालाई धादिङको सानका रूपमा समेत हेरिएको छ।