काठमाडौं। नागढुंगा सुरूङमार्गमा निजी सवारी साधनलाई पनि खुला गरिएको छ । ९ जनासम्म यात्रु रहेका निजी सवारी साधन (कार, जिप र भ्यान) सञ्चालन गर्न खुला गरिएको हो ।
एक महिना अघिदेखि सञ्चालनमा आएको यस सुरूङमागमा आपतकालीन सवारीलाई मात्रप्रयोग गर्न दिइएको थियो । सोमबार बिहान ९ बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारीसहित ९ सिटसम्मका निजी सवारी साधनलाई आवागमन खुला गरिएको हो ।
परीक्षणस्वरूप यी सवारीलाई निश्चित समयका लागि सुरूङ मार्ग प्रवेश खोलिएको हो । यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरूङ खुला गर्ने तयारी रहेको बताइएको छ ।
सुरुङमार्ग प्रयोग गर्दा प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गतिमा नचलाउन, सवारीको हेडलाइट बाल्न, गाडी टनेलभित्र नरोक्न, ओभरटेक गर्न नपाइने जस्ता नियम राखिएको छ । सुरूङको नियमित सञ्चालनका लागि सुरक्षा युनिट, शुल्क संकलन गर्ने युनिटसहित सुरुङभित्रका गतिविधि सीसीटीभीमार्फत निगरानी गरिनेछ ।