धादिङ । त्रिशूली नदीमा आएको बाढीपछि धादिङका विभिन्न स्थानबाट ५ पुरुष र ११ महिला गरी १६ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार नदी किनारका विभिन्न क्षेत्रमा खोज तथा उद्धार गर्ने क्रममा ती शवहरूसँगै मानिसको हात र बायाँ खुट्टाको टुक्रासमेत भेटिएको छ। फेला परेका अधिकांश शवको नाम, थर र ठेगाना भने खुल्न सकेको छैन।
तटवर्ती क्षेत्रका विभिन्न स्थानबाट शव तथा मानव अङ्गहरू बरामद भएका हुन्। गल्छी गाउँपालिका–६ महेशदोभानस्थित नदी किनारबाट टाउको नभएको अवस्थामा एक जनासहित अन्दाजी ३०–३५ वर्षीया दुई महिला तथा वडा नम्बर ८ कोल्पु खोला पुलनजिकैबाट अन्दाजी ४०–४५ वर्षीय दुई पुरुष र एक महिलाको शव फेला परेको छ।
यस्तै, बेनीघाट रोराङ गाउँपालिका–५ बेनीघाट बजारबाट दुई महिला, विशालटारबाट दुई पुरुष र एक महिला, वडा नम्बर ७ चरौँदीबाट तीन महिला तथा वडा नम्बर ९ जोगिमाराबाट एक पुरुषको शव भेटिएको छ। सोही गाउँपालिकाको वडा नम्बर १० ज्वाङखोलामा मानिसको बायाँ खुट्टाको टुक्रा बरामद भएको छ।
यसैगरी गजुरी गाउँपालिका–२ चालिसेबाट अन्दाजी ४०–४५ वर्षीया एक महिलाको शव र वडा नम्बर १ गलौँदीमा मानिसको हातको टुक्रा भेटिएको छ भने सिद्धलेक गाउँपालिका–७ पाङग्रेबाट अन्दाजी ४५–५५ वर्षीया महिलाको शव फेला परेको छ।
बाढीको जोखिममा परेका तीन जनाको भने जीवितै उद्धार गरिएको छ। गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारको घरबाट ८१ वर्षीय चन्द्रबहादुर आले मगरको उद्धार गरी उपचारका लागि धादिङ अस्पताल (आदमघाट) पठाइएको छ र उनको अवस्था मध्यम रहेको छ। त्यस्तै भारतको अलिगढ घर भएका ४५ वर्षीय माया चौधरी र ५० वर्षीय राजू चौधरीको पनि सकुशल उद्धार गरिएको छ।
त्रिशूली नदी किनारका क्षेत्रहरूमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी छ। प्रहरीले फेला परेका शव तथा मानव अङ्गहरूको सनाखत र पहिचानको प्रयास भइरहेको जनाएको छ।