धादिङ । बाढीका कारण नुवाकोटमा करिब ३ सय जना बेपत्ता भएका छन् । करिब ८ सय घरमा क्षती पुगेको छ । बाढीले घर तथा बस्तीमा पुरिएका ठाउँबाट ११ जनाको शव फेला परेको सहाय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँले बताए ।
‘सञ्चार तथा विद्युत् सेवा अवरुद्ध रहेकाले उद्धार तथा सुरक्षाका लागि कठिनाइ भएको छ । बेपत्ताको यकिन तथ्याङ्क सङ्कलन गर्न गाह्रो भएको छ । तथ्याङ्क प्रारम्भिक भएकाले घटबढ हुन सक्छ । उद्धार तथा सुरक्षाका लागि गएका सुरक्षाकर्मीहरूसमेत सम्पर्कविहीन भएका छन् । नेटवर्कका कारण सम्पर्कमा नआएका हुन सक्छन् । तर खोज तथा उद्धारका काम भइरहेका छन्,’ उनले भने ।
‘बाढीमा परी घाइते भएका ३९ जनाको उद्धार तथा उपचार भइरहेको छ भने ६३ जनालाई उद्धार गरिएको छ । केही व्यक्तिलाई हेलिकप्टरमार्फत जीवितै उद्धार गरिएको हो,’ उनले भने ।
सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईँका अनुसार नुवाकोटले यो बाढीबाट इतिहासकै ठूलो क्षति बेहोरेको छ । बाढीबाट विदुर नगरपालिकाका वडा नम्बर १, ४, ५, ६, ९ र १०, बेलकोटगढी नगरपालिकाका वडा नम्बर ५, ७ र ८ तथा तारकेश्वर गाउँपालिकाका वडा नम्बर २ र ४ प्रभावित भएका छन् ।
बाढीले जिल्लाका ८ वटा सरकारी कार्यालय पूर्ण रूपमा बगरमा परिणत गरेको छ । एउटा विद्यालय भवन बगाएको छ भने एक सरकारी र तीन निजी विद्यालयमा आंशिक क्षति पुगेको छ । तर विद्यालयमा अध्ययनरत बालबालिका भने सकुशल रहेको उनले बताए ।
‘बाढीले ११ वटा पक्की पुल र नौवटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । त्यस्तै करिब ७ देखि ८ सय निजी घरमा क्षति पुगेको अनुमान गरिएको छ । विद्युत् संरचना तथा टनेलमा समेत क्षति पुगेको छ । बाढीले केन्द्रीय कारागार खम्बा क्याम्पमा समेत क्षति पुर्याएको छ भने पुरानो कारागारको संरचना पूर्ण रूपमा बगाएको छ,’ उनले भने ।
सञ्चार तथा विद्युत् सेवा अवरुद्ध रहेकाले प्रभावित क्षेत्रका सबै विवरण अझै प्राप्त हुन नसकेको र उद्धार तथा तथ्याङ्क सङ्कलनको काम जारी रहेको उनले बताए ।