एमाले धादिङले सार्वजनिक गर्‍यो धादिङमा क्षतिको प्रारम्भीक विवरण
सम्बाददाता

भदौ ११, २०८३

धादिङ । रसुवा क्षेत्रबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङ जिल्लामा भएको क्षतिको नेकपा एमाले धादिङले प्रारम्भीक विवरण सार्वजनिक गरेको छ ।

एमाले धादिङकी सचिव राधिका सापकोटाका अनुसार पालिका कमिटी र विपत् व्यवस्थापन समितिको सूचनाका आधारमा क्षतिको प्रारम्भिक लेखाजोखा तयार पारिएको हो ।

गोसाइँकुण्ड हिँडेका २६ जना बेत्रावतीबाट सम्पर्कविहीन
रसुवाको धार्मिक स्थल गोसाइँकुण्ड दर्शनका लागि धादिङबेसीबाट निस्किएका २६ जना सवार गाडी बेत्रावती पुगेपछि सम्पर्कविहीन बनेको एमालेको प्रतिवेदनमा उल्लेख छ । भदौ १० गते बिहान ६ः३० बजे धादिङबेसीबाट हिँडेको उक्त टोलीले बिहान ८ बजे गल्छीमा खाजा र त्यसपछि बेत्रावती पुगेर खाना खाएर गाडी चडेको र त्यसपछि सम्पर्कविहीन भएको बताइएको छ ।

No data was found

सम्पर्कविहीन हुनेहरूमा एमाले धादिङका नेताहरु दयाराम लम्साल, छविलाल श्रेष्ठ र नारायण लम्सालसहित पार्टी कार्यकर्ता तथा स्थानीय रहेका छन् । सम्पर्कविहीन हुनेमा नीलकण्ठ नगरपालिका वडा नं. १२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, सारदा लम्साल, प्रकाश लम्साल, इन्दिरा लम्साल र छविलाल श्रेष्ठ छन् । यस्तै नीलकण्ठ–९ का जानुका लम्साल, राम लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरी लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल र न्याउरी लम्साल सम्पर्कविहीन भएका छन् । नीलकण्ठ–३ का सिता तिवारी, तुलसी तिमल्सिना, इश्वरी तिमल्सिना तथा सिद्धलेक–१ का हरीप्रसाद सिलवाल, विन्दा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट विवरणमा उल्लेख छ ।

यातायात सञ्जाल ध्वस्तः ५ पक्की र ११ झोलुङ्गे पुल बगे
त्रिशूली नदीमा आएको बाढीले जिल्लाका मुख्य सडक सञ्जाल र पुलहरू बगाएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ । सदरमुकाम धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने मलेखुस्थित पक्की पुल बाढीले बगाएपछि सदरमुकामको सम्पर्क विच्छेद भएको छ ।

यसैगरी केउरीनी–गल्छी १ जोड्ने पक्की पुल, जिन्टेटार–स्यालटार जोड्ने पुल, जहरे–सिद्धलेक ७ जोड्ने पुल र घाटबेसी–पिपलटार जोड्ने पक्की पुलहरू पूर्ण रूपमा बगेका छन् । पक्की पुलका अलावा घाटबेसी, मालिङ्गा, गजुरी कालिका मन्दिर, बागेश्वरी मन्दिर, केउरेनी, बैरनी, गहते, कल्लेरीघाट, मासटार, चिरौदी र पानसयटार गरी ११ वटा झोलुङ्गे पुल बाढीले ध्वस्त पारेको छ ।

सञ्चार र बिजुली ठप्प, सदरमुकाममा खाद्यान्न र इन्धनको संकट
बाढीले जहरेखेतस्थित विद्युत् सब–स्टेशनमा आंशिक क्षति पु¥याएपछि राजमार्ग क्षेत्रमा विद्युत् प्रसारण अवरुद्ध बनेको छ । बिजुली नहुँदा जिल्लामा टेलिफोन र इन्टरनेट सेवासमेत ठप्प भएको छ ।

काठमाडौँ तथा राजमार्गसँगको सम्बन्ध विच्छेद भएका कारण सदरमुकाम धादिङबेसीमा खाद्यान्न, खाना पकाउने ग्यास र दैनिक उपभोग्य वस्तुको संकट सुरु भइसकेको छ । धादिङबेसीमा रहेका पेट्रोल पम्पहरूमा पेट्रोल र डिजेल पूर्ण रूपमा सकिएको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तहअनुसार क्षति विवरण
एमालेको प्रतिवेदनअनुसार जिल्लाका विभिन्न पालिकाहरूमा भौतिक संरचनामा ठूलो क्षति पुगेको छः

– गल्छी गाउँपालिकाः ३६ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने ४५ घर, बैरनी अस्पताल, बागेश्वरी मावि, सक्सेस एकेडेमी, दुई वटा वित्तीय संस्था र २० भन्दा बढी सवारी साधनमा आंशिक क्षति पुगेको छ ।

– गजुरी गाउँपालिकाः खेलकुद कभर्डहल पूर्ण रूपमा बगेको छ। गलौदो बजार (१७ घर), बेल्खु बजार (१५ घर), मलेखु फुर्केखोला (३० घर), जहरे (७ घर) र पोखरेखोला (३ घर) गरी कुल ७२ घरमा आंशिक क्षति पुगेको छ।

– बेनिघाट रोराङ गाउँपालिकाः ब्लुहेभन होटल र जिपलाइन पूर्ण रूपमा ध्वस्त भएका छन् भने आसपासका पाँच घर र त्रिशुली रिभर साइडमा क्षति पुगेको छ।

– सिद्धलेक गाउँपालिकाः एक होटल र करिब २० वटा मरणघाट बाढीले बगाएको छ ।

थाक्रे र धुनिबेसी गाउँपालिकाका केही स्थानीय पनि सम्पर्कविहीन रहेको बताइएको छ ।

विपत् व्यवस्थापन समितिले नदी क्षेत्रमा अझै ठूलो बाढी आउन सक्ने सम्भावना रहेकाले अलर्ट जारी गरेको छ । सडक र सञ्चार सम्पर्क विच्छेद भएकाले उद्धार र राहतका लागि तत्काल पहल गर्न एमाले धादिङले सरकार र सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बाढी अपडेट: धादिङको धुनिबेसीका मात्रै ७ जना सम्पर्कविहीन (अधिकांश सवारी चालक)

एमाले धादिङले सार्वजनिक गर्‍यो धादिङमा क्षतिको प्रारम्भीक विवरण

बाढीको असर: नारायणगढ–काठमाडौँ सडकमा सवारी आवागमन बन्द, तटीय क्षेत्रमा उच्च सतर्कता

बाढीले बैंक तथा वित्तिय संस्थाका १८ शाखा बगायो

बाढीले नुवाकोटबाट करिब ३ सय बेपत्ता, ११ जनाको शव फेला, ८ सय घरमा क्षति

यो पनि पढ्नुहोस
सम्बाददाता