धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको भिषण बाढीका कारण राजमार्ग अवरुद्ध भई बाटोमै अलपत्र परेका यात्रु र बाढी प्रभावितहरूका लागि धादिङको गजुरीमा निस्शुल्क खानाको व्यवस्था मिलाएको छ ।
“मानवता नै हाम्रो पहिचान” भन्दै गजुरीका स्थानीयहरुले सडकमा रोकिएका सवारी चालक, सहचालक तथा सम्पूर्ण यात्रुहरूका लागि निस्शुल्क भोजनको व्यवस्था मिलाएको हो ।
बाढीपहिरोका कारण बाटो अवरुद्ध हुँदा अलपत्र परेका सर्वसाधारणलाई राहत पुर्याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको गजुरी गाउँपालिका-१ का वडा सदस्य समेत रहनुभएका सुधिर खरेलले बताउनुभयो ।
“दुःखको समयमा गजुरीबासीको साथ” भन्ने मूल मर्मका साथ एकजुट भएका स्थानीयहरूले बाढी प्रभावित तथा अलपत्र यात्रुहरूलाई खाना खुवाउने व्यवस्था मिलाएका छन् । बिहिबार बिहान देखि बेलुकासम्म करिब ११ सयले खाना खाएका छन् भने आज शुक्रबार दिउँसो सम्म ३ सयले खाना खाएका छन् ।
गजुरीका स्थानीयले बाढी तथा पहिरो बिपद पछिको स्वास्थ्य सहायता कक्ष पनि संचालन गरेको छ ।
स्थानीयको यस परोपकारी प्रयासले विपद्को समयमा बाटोमै रोकिनुपरेका सयौँ यात्रुहरूलाई ठूलो सहारा र राहत मिलेको छ ।

