धादिङ । भोटेकोशी नदीमा आएको बाढीका कारण अबरुद्ध देशकै ‘लाइफलाइन’ मानिने पृथ्वी राजमार्ग आंशिक रूपमा सञ्चालनमा आएको छ ।
धादिङ खण्डका विभिन्न स्थानमा थुप्रिएको लेदो पन्छाएपछि राजमार्ग एकतर्फी खुलाएर अलपत्र परेका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने काम भैरहेको छ ।
गजुरी गाउँपालिका–५ स्थित गलौदीमा लेदो हटाएर होल्ड भएका सवारीलाई शुक्रबार साँझ क्रस गराइएको छ । जसोतसो सडक संचालन गराइएपनि महेशदोभान, बाङ्गे, जरेखेत र गलौदी क्षेत्रमा सडकको दायाँबायाँ अझै टन्नै लेदो जमेकाले सवारी फस्ने जोखिम अत्याधिक छ ।
हाललाई होल्डिङमा रहेका सवारी, एम्बुलेन्स तथा दमकल जस्ता अत्यावश्यक सवारीसाधनलाई मात्र प्राथमिकताका साथ गन्तव्यतर्फ पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए ।
सडकबाट लेदो पूर्ण रूपमा हटाइनसकिएकाले यात्रुवाहक तथा हेभी सवारीसाधनका लागि यात्रा अझै जोखिमपूर्ण रहेको छ । अवस्था अनुकूल रहेमा मात्र ठूला सवारीसाधन पूर्ण रूपमा खुलाउन सकिने छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै अति आवश्यक कामबाहेक राजमार्गको यात्रा नगर्न र ताजा सूचना लिएर मात्र प्रस्थान गर्न सर्वसाधारणलाई जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ।