धादिङ । धादिङको गजुरी गाउँपालिकाका बाढी प्रभावित परिवारको लागि काठमाडौंका विभिन्न सहयोगी दाताहरूबाट संकलित राहत सामग्री पालिकालाई हस्तान्तरण गरिएको छ ।
गजुरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष डा. सीता ढुंगानाको पहलमा संकलन भएको राहत सामग्रीहरू शनिबार विहान गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, स्थानीय वडा अध्यक्षहरू तथा प्रमुख प्रशासकीय अधिकृत जगदीश खरेललाई सामूहिक रूपमा हस्तान्तरण गरिएको हो ।
सहयोग स्वरूप प्राप्त राहत सामग्रीहरूमा १०० थान ब्लाङ्केट, १०० थान महिलाको लुङ्गी, १४४ थान पुरुषको हाफ पेन्ट, २०० थान महिलाको स्कार्फ/सल तथा १२ बोरा चिउरा रहेका छन् । हस्तान्तरण गरिएका यी खाद्यान्न तथा लत्ताकपडाहरू गाउँपालिकाले तत्कालै गलौदीलगायतका बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई वितरण गर्ने तयारी गरेको छ ।
गजुरीस्थित गलौदीमा भीषण बाढीका कारण घर डुबानमा परेपछि करिब ३५ घरपरिवार आफ्नो घर छाडेर खुला आकाशमुनि बसिरहेका छन् । बाढीले घरभित्रका खाद्यान्न, लत्ताकपडालगायत सम्पूर्ण बन्दोबस्तीका सामान नष्ट पारेपछि बिचल्लीमा छन् ।