धादिङ। आइतबार बिहान त्रिशूली नदीमा आएको बाढीका कारण भासिएको धादिङको बेनीघाट रोराङ गाउँपालिका कृष्णभिरस्थित पृथ्वी राजमार्गको सडक भासिएका कारण यातायात आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।
त्रिशूली नदीमा जलसतह बढेपछि नागढुङ्गा-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको हो ।
धादिङको कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको बाढीले सडकलाई तलबाट कटान गरेपछि गाडी सञ्चालनमा रोक लगाइएको मुग्लिन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडकको केही भाग कटानमा परेको छ भने गाडी आवागमन जोखिमपूर्ण बनेको छ ।
आज बिहान भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचनापछि काठमाण्डौ–मुग्लिन तथा मुग्लिन–नारायणगढ सडकखण्डमा केही समय गाडी आवागमन रोकिएको थियो ।
पछि बाढीको जोखिम तत्काल नरहेको सूचना आएपछि गाडी सञ्चालनमा ल्याइएको थियो । तर, त्यसको केही समयमै त्रिशूली नदीमा फेरि जलसतह बढेपछि कृष्णभीर क्षेत्रमा सडक कटान भएको हो ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङ क्षेत्रमा त्रिशूली नदीको जलसतह खतराको तहभन्दा झण्डै तीन मिटर माथि पुगेको छ । सडक अवरुद्ध भएपछि विभिन्न ठाउँमा यात्रु तथा गाडी अलपत्र परेका छन् ।
यात्रुहरूलाई नदी तथा सडकको जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षाकर्मी तथा प्रशासनको निर्देशन पालना गर्न प्रहरीले आग्रह गरेको छ । भोटेकोशीको बाढी त्रिशूली हुँदै तलतर्फ आइरहेकाले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
खोज, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मीलाई समेत विशेष सावधानी अपनाउन भनिएको छ ।