भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन
राष्ट्रिय समाचार समिति

भदौ १४, २०८३

नुवाकोट। भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट एक हजार ३२१ जना सम्पर्कविहीन भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आज उक्त तथ्याङ्क सार्वजनिक गर्दै नुवाकोट र रसुवाबाट हालसम्म दुई हजार ४५६ जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।
उद्धार गरिएकामध्ये दुई हजार २२५ जना नेपालीसहित र २३१ बाँकी विदेशी रहेका छन् । त्यसैगरी ६४ जनाको शव सङ्कलन गरिएको उहाँले बताउनुभयो । “उद्धार गरिएकामा ५८ जना घाइते छन्”, उहाँले भन्नुभयो, “घाइतेको अवस्था हेरेर उपचारका लागि सोहीअनुसारका स्वास्थ्य संस्थामा पठाइएको छ ।” सम्पर्कविहीन हुनेमा एक हजार १०९ नेपाली छन् भने १५७ जना विदेशी छन् । त्यसैगरी पहिचान नखुलेका ५५ जना रहेका उहाँले जानकारी दिनुभयो ।
खोज तथा उद्धारमा माथिल्लो त्रिशूली थ्री ‘ए’ मा सुरक्षाकर्मी र विद्युत् प्राधिकरणका कर्मचारी गरी ८४ जना खटिरहेका प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो । त्यसैगरी थ्री ‘बी’ मा रेकी भई खोज तथा उद्धार भइरहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । थ्री ‘ए’ को सुरुङभित्र फसेको भनिएकाको उद्धारका लागि सुरुङ भएको स्थान पहिचानको प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “आवश्यक यन्त्र तथा प्रविधि प्रयोग गरी उद्धार गर्ने प्रयास भइरहेको छ ।”
प्रजिअ रेग्मीले उद्धारको काम निरन्तर भइरहेको बताउँदै अहिले शव व्यवस्थापनलाई पनि प्राथमिकता दिन थालिएको बताउनुभयो । शव खोज तथा उद्धारका लागि ६०० सुरक्षाकर्मीको संयुक्त टोलीसहित हेलिकप्टर र तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । त्यसका लागि त्रिशूली नदी वारी र पारी गरेर ३० स्थानलाई मुख्य आधार क्षेत्र तय गरिएको छ ।
बाढीका कारण अवरुद्ध बनेका यस क्षेत्रका सडक सञ्चालनका लागि धमाधम काम भइरहेको प्रजिअ रेग्मीले बताउनुभयो । उहाँका अनुसार गल्छी–देवीघाट सडक सञ्चालन गर्न ठूलो खोलास्थित क्षतिग्रस्त पक्की पुल मर्मत भइरहेको छ भने देवीघाटमा बेलिब्रिज जडान कार्य अघि बढाइएको छ ।
त्यसैगरी, ढुङ्गे बजारक्षेत्रको अवरुद्ध सडक खुलाउन डोजर परिचालन गरिएको छ । ढुङ्गे र त्रिशूली बजार जोड्नका लागि तत्काललाई तुइन जडान प्रारम्भ गरिएको छ । “तुइन जडानका लागि लठ्ठा आइसकेको छ”, प्रजिअ रेग्मीले भन्नुभयो, “तत्काल तुइनबाटै भए पनि वारपार गर्न वैकल्पिक मार्ग प्रयोग गर्नेगरी प्रयास गरिएको छ ।”
बाढी प्रभावितका लागि राहत सामग्री वितरणमा एकद्वार प्रणाली अपनाइएको छ । हालसम्म १४० सङ्घसंस्थाले राहत सामग्री उपलब्ध गराएका प्रजिअ रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार प्राप्त राहत सामग्री गोदाम हलमा सङ्कलन गरी आवश्यकताका आधारमा होल्डिङ सेन्टरमा गाडी र हेलिकप्टरमार्फत ढुवानी भइरहेको छ ।
बाढीग्रस्त क्षेत्रबाट उद्धार गरिएकालाई गाँसबासको व्यवस्था गर्न सञ्चालन गरिएका होल्डिङ सेन्टरको सङ्ख्यासमेत वृद्धि भएको छ । शनिबारसम्म १३ वटा होल्डिङ सेन्टर सञ्चालन गरिएकामा हाल यो सङ्ख्या १७ बनाइएको उहाँले बताउनुभयो । होल्डिङ सेन्टरमा दुई हजार ४०३ जना बसिरहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध

बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

फुर्केखोला मुनि भेटिएको सेफ सडकमा ल्याउन नसकेपछि कुरेरै बसे सुरक्षाकर्मी (यसरी निकालिएको थियो सेफ)

गल्छीमा बाढीले ५२ घर विस्थापित, कृष्णभीरमा सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति