धादिङ । बाढीबाट क्षतबिक्षत बनेको धादिङको गल्छी गाउँपालिका-६ महेशदोभानमा युवाहरू स्वयंसेवी रूपमा सरसफाइ अभियानमा जुटेका छन् ।
पछिल्लो समय समाजसेवामा अग्रपंक्तिमा देखिएका धादिङका युवा नेता राधाकृष्ण भण्डारी पनि बैरेनी र महेशदोभान क्षेत्रमा खटिएका छन् । बाढीले क्षति पुर्याएको महेशदोभान बजार, बैरेनी अस्पताल तथा बागेश्वरी माध्यमिक विद्यालयलगायतका क्षेत्रमा थुप्रिएको लेदो, माटो र फोहोर पन्छाउने तथा संरचना सफा गर्ने काम गरिरहेका छन् ।
विपद् प्रभावित क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सहयोग पुर्याउने उद्देश्यले युवाहरूले श्रमदानमार्फत सरसफाइ अभियान सञ्चालन गरेका हुन् ।
विपदको बेला राजनीतिक आस्था र संगठनभन्दा माथि उठेर युवाहरूलाई स्वयंसेवी काममा सहभागी हुन पनि भण्डारीले आग्रह पनि गरेका छन् ।
सरसफाइ अभियानमा नेपाल तरुण दल, अनेरास्ववियुलगायत विभिन्न राजनीतिक दलका भ्रातृ तथा शुभेच्छुक संगठनमा आबद्ध युवाहरू सहभागी छन् ।