धादिङ। धादिङको गजुरी गाउँपालिकाका बाढी प्रभावित नागरिकका लागि खाना पकाउने ग्याँस सिलिन्डरसहित विभिन्न आपत्कालीन राहत सामग्री हस्तान्तरण गरिएको छ । विपत्तिको समयमा चुल्हो बाल्नसमेत समस्यामा परेका प्रभावित परिवारलाई लक्षित गरी ७० थान भरिएका ग्याँस सिलिन्डर गजुरी गाउँपालिकाकालाई हस्तान्तरण गरिएको हो ।
गजुरी गाउँपालिका–७ निवासी नेपाल–चीन जनसम्बन्धका जानकार राजन अधिकारीको समन्वयमा नेपाल ब्लु स्काई रेस्क्यु टिमले उक्त राहत सामग्री गजुरी गाउँपालिकाकालाई हस्तान्तरण गरेको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।
राहत हस्तान्तरण कार्यक्रममा खाद्य तथा अन्य अत्यावश्यक सामग्रीहरू समेत समावेश थिए । जसमा ६० बोरा हिरा बास्मती चामल, ५६ थान साबेल, ११० थान बडी प्याक, १२८ थान सोलार लाइट, ५० जोडी जुत्ता, १५० जोडी पञ्जा, १०० थान बालबालिका तथा महिलाका कपडा, ४ थान ग्यालिन र २० प्याक गिफ्ट बक्स रहेका छन् ।
राहत उपलब्ध गराउने नेपाल ब्लु स्काई रेस्क्यु टिम सन् २०१५ को महाभूकम्पदेखि नेपालमा मानवीय सहयोगमा निरन्तर सक्रिय रहँदै आएको चीनको अनुभवी उद्धार टोली हो । राहत हस्तान्तरणका क्रममा उक्त टोलीले सशस्त्र प्रहरी बल ९एपिएफ० क्याम्पको समेत भ्रमण गरी उद्धारसम्बन्धी अनुभव आदानप्रदान गरेको छ ।