धादिङ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका लागि धादिङका १३ वटै स्थानीय तहले संयुक्त रूपमा ७० लाख रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय गरेका छन् ।
मंगलबार थाक्रे गाउँपालिका कार्यलयमा बसेको बैठकले भदौ १० गतेको बाढीबाट सबैभन्दा बढी प्रभावित गल्छी, गजुरी, सिद्धलेक र बेनीघाट रोराङ गाउँपालिकाका विपद् व्यवस्थापन कोषमा आवश्यकता र प्राथमिकताका आधारमा यो रकम परिचालन गर्ने निर्णय गरेको छ ।
बैठकले राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने,सहयोग गर्नुअघि स्थानीय सरकारलाई जानकारी गराउने र वितरणपछि विवरणसहित प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गर्न पनि माग गरेको छ।
त्यस्तै, क्षति र आवश्यकताको मूल्याङ्कनमा स्थानीय तहको तथ्याङ्कलाई आधिकारिक मान्नुपर्ने तथा संघ र प्रदेशबाट प्राप्त राहत स्थानीय सरकारको मागअनुसार तत्काल परिचालन गर्नुपर्नेमा जोड दिइएको छ ।
बाढी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन पुल र सडक तत्काल पुनःनिर्माण तथा मर्मत गर्न संघ र प्रदेश सरकारसँग माग गरिएको छ भने धादिङबेसी जोड्ने वैकल्पिक सडकमार्ग तत्काल सञ्चालन योग्य बनाउन माग गरेका छन् ।
यी निर्णय तत्काल कार्यान्वयनका लागि नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बागमती प्रदेश सरकारसमक्ष पठाइने जनाएको छ ।
