धादिङ । धादिङको गल्छी गाउँपालिकास्थित महेशदोभानका बाढी प्रभावितहरू प्राकृतिक विपत्तिको पीडासँगै युट्युबर, भ्लगर र सामाजिक सञ्जाल प्रयोगकर्ताको गैरजिम्मेवार हर्कतबाट थप पीडामा परेका छन् ।
राहत र उद्धारमा सघाउनुको सट्टा पीडितको घाउमा नुन छर्कँदै फोटो-भिडियो खिचेर भ्युज कमाउने र आइडी भाइरल गराउने होडबाजीले विपद्ग्रस्त क्षेत्रका बासिन्दा आजित बनेका हुन् ।
महेशदोभानका बाढी प्रभावित नरेश खतिवडाले सामाजिक सञ्जालमा आफ्ना आक्रोश पोख्दै सामाजिक संजाल प्रयोगकर्ताको संवेदनाहीन व्यवहारबारे खुलासा गर्नुभएको छ । गत १० गतेदेखि हालसम्म करिब ५० जना त्यस्ता व्यक्ति धपाएको बताउने खतिवडाले लेदोपानीले पुरिएको घर-पसल सफा गरिरहेको बेला भिडियो खिचेर “ल हेर्नुस् यो बुढो मान्छेको हालत, सहयोगका लागि सम्पर्क गर्नुहोस्” भन्दै भ्युज र डलरका लागि व्यापार गर्न खोज्ने एक जनालाई हिलाम्मे हातैले चट्कन हानेर लखेटेको उल्लेख गर्नुभएको छ ।
उहाँले आफ्नो फेसबुक वालमा लेख्नुभएको छ- ‘१० गते देखि आजसम्म ५० जना जति युटुवे लखेटें । हिजो त एउटाले हिलाम्मे हातको चट्टकन पनि भेट्यो। कट्टु गन्जी लगाएर बाढीको लेदोपानीले पुरिएको आफ्नै घर पसल सफा गर्दै थिएँ ” ल हेर्नुस् यो सेतै कपाल फुलेको बुढो मान्छेको हालत यस्तो छ , यस्लाई आर्थिक सहयोग गर्न हामीलाई संपर्क राख्नुहोस्” भन्दै साइडबाट भिडियो खिच्दै रहेछ ।’
पत्रकारको आवरणमा मोबाइल वा क्यामेरा तेर्स्याएर मनलाग्दी बोल्ने, दृश्य खिच्ने र फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा पोस्ट्याएर सामाजिक मर्यादा धज्जी उडाउने यस्ता गतिविधिप्रति चौतर्फी विरोध सुरु भएको छ । पत्रकारिताको नाममा अराजकता फैलाउने र समाजलाई विकृत बनाउने यस्ता तत्वहरूको तत्काल पहिचान गरी सरकारले कानुनी कारबाही गर्नुपर्छ ।