धादिङ । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि हिमालयन हेल्थकेयर नेपालले २१ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सहयोग उपलब्ध गराएको छ ।
संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १५ लाख नगद जम्मा गरेको हो । प्रभावित क्षेत्रका बासिन्दाका लागि ६ लाख ७८ हजार ८१२ बराबरको खाद्यान्न तथा अस्थायी आवासका लागि टेन्ट हस्तान्तरण गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा पहिलो चरणमा ६० घरपरिवारलाई पुग्ने राहत सामग्री पठाइएको प्रशासकीय अधिकृत कुलमणि बस्नेतले जानकारी दिनुभयो । राहत सामग्रीमा २४ सय केजी चामल, ३ सय केजी दाल, २४० लिटर तेल, चिउरा, चाउचाउ, बिस्कुट, नुन, चिनी लगायतका खाद्यान्न र ५ थान ठूला टेन्ट रहेका छन् ।
सबै सामग्रीहरु जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत हस्तान्तरण भइसकेको छ । स्थानीय तहहरुको समन्वयमा तत्कालीन आवश्यकता अनुसार थप सहयोग विस्तार गरिने संस्थाका प्रशासकीय अधिकारी बस्नेतले जानकारी दिनुभयो । विगत ३४ वर्षदेखि धादिङ लगायत देशका दुर्गम क्षेत्रहरूमा निरन्तर कार्यरत हिमालयन हेल्थकेयर नेपालले यसअघिका महाभूकम्प, बाढीपहिरो र विपद्का समयमा पनि अग्रणी भूमिकामा रहेर उद्धार तथा राहत सहयोग गर्दै आएको छ ।