धादिङ । बेनिघाट गाउँपालिकाले अबदेखि आइतबार पनि विद्यालय संचालन गर्ने भएको छ ।
गाउँ कार्यपालिकाको २०८३ भदौ १८ गते बसेको बैठकले सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आइतबारदेखि शुक्रबारसम्म कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
विभिन्न कारणले लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको कक्षा छोड्ने दर बढ्नुका साथै सिकाइ उपलब्धिसमेत कमजोर देखिएको कारण सार्वजनिक बिदा बाहेक विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई ‘अर्को सूचना नभएसम्म’ आइतबारदेखि शुक्रबारसम्म नियमित पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको छ ।
यस निर्णयसँगै केन्द्र सरकारले तोकेको सातामा दुई दिन (शनिबार र आईतबार) सार्वजनिक बिदा दिने व्यवस्थाभन्दा फरक ढंगले स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालयमा आइतबारसमेत कक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ९विवेक० द्वारा जारी सूचनामा सार्वजनिक बिदाको दिनबाहेक आइतबारदेखि शुक्रबारसम्म कक्षा सञ्चालन गरी पठनपाठन गर्न–गराउन अनुरोध गरिएको छ ।