धादिङ। बाढीले मलेखु फुर्केखोलासहित त्रिसूली नदी तर्ने पक्की पुलहरु बगाएपछि मोटरसाइकल आवतजावत भइरहेको विहानी पम्प नजिकैको झोलुङ्गे पुल पनि जोखिम बढेपछि बन्द गरिएको छ ।
सिद्धलेक गाउँपालिका–६ खरमटार र गजुरी गाउँपालिका–२ बिहानी पम्पस्थित पृथ्वी राजमार्ग जोड्ने झोलुङ्गे पुलको अवस्था दिनानुदिन बिग्रिएर जोखिम बढेपछि पुलमा मोटरसाइकल आवतजावत रोक लगाइएको हो ।
भदौ १० गते रसुवा हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुलको दायाँ–बायाँ भागमा रहेको पखेटा अर्थात् ‘स्टेबिलाइजिङ केबल’ मा क्षति पुगेको छ । जिर्ण बनेको पुलमा एकैपटक धेरै मोटरसाइकल आवतजावत गर्दा पुल अत्यधिक कोल्टिने गरेको पाइएपछि शुक्रबारदेखि मोटरसाइकल आवतजावतमा रोक लगाइएको सिद्धलेक गाउँपालिका–६ का वडाध्यक्ष सुरेन्द्र मगरले जानकारी दिनुभयो ।
विहानी पम्प नजिकैको झोलुङ्गे पुलमा मोटरसाइकल रोक लगाइएपछि फिसफिसेटार नजिकैबाट कच्ची सडक प्रयोग गरेर मलेखु खोलाको झोलुङ्गे पुल तर्न सकिने गरी वैकल्पिक व्यवस्था मिलाइएको छ ।
पक्की पुल बगेपछि धादिङबेँसीबाट परेवाटार, पिपलटार, केउरेनी हुँदै मासटार निस्कने सडक पनि वर्षातका कारण जोखिमपूर्ण बनेको छ ।