धादिङ । धादिङ जिल्ला भलिबल संघको अधिवेशन आगामी असोज ३ गते नीलकण्ठ नगरपालिका–३, धादिङबेँसीमा हुने भएको छ । नयाँ नेतृत्व चयन र आगामी कार्यदिशा तय गर्न ‘जिल्लाको भलिबल समृद्धि, एकता र विकासको प्रतिबद्धता’ भन्ने नाराका साथ अधिवेशन आयोजना गर्न लागिएको संघका अध्यक्ष तिलक गुरुङ (अमृत) ले जानकारी दिनुभयो ।
नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै असोज ५ गतेभित्र देशभरका ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार संघले असोज ३ गतेको मिति तय गरेको हो ।
महासचिव रोशन श्रेष्ठद्वारा जारी पत्रमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७, नियमावली २०७९ र अन्तर्राष्ट्रिय भलिबल महासंघका नीति(नियमबमोजिम अधिवेशन प्रक्रिया अघि बढाउन भनिएको छ ।
यसअघि २०७९ असार ५ गते सम्पन्न पाँचौँ साधारणसभाबाट सिद्धलेक गाउँपालिका–२ का अमृत गुरुङको अध्यक्षतमा चार वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको थियो ।