आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
सम्बाददाता

भदौ २३, २०८३

काठमाडौँ। नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), दक्षिण–पूर्वी एशिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ’ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ प्राप्त गरेको छ ।
दिली, तिमोर–लेस्तेमा आज आयोजित ‘डब्लुएचओ’ दक्षिण पूर्वी एशिया क्षेत्रीय कमिटीको ७९ औँ  बैठकमा सो विश्व प्रतिष्ठित सम्मान सङ्घलाई  अर्पण गरिएको हो । ‘डब्लुएचओ’का महानिर्देशक डा टेड्रोस अधानोन ग्याब्रियससले सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तलाई उक्त सम्मान अर्पण गर्नुभयो ।
नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्युनीकरण तथा सर्वसुलभ, समतामूलक र विपन्न, पहुँचबाट बाहिर रहेका समुदाय केन्द्रित नेत्र स्वास्थ्य सेवाको विस्तारमा अतुलनीय योगदान पु¥याएवापत ‘डब्लुएचओ’ले पहिलो पटक सङ्घलाई सो विधाको सम्मान अर्पण गरेको ‘डब्लुएचओ’द्वारा यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिका  अनुसार सार्वजनिक स्वास्थ्य विधामा नेपाल नेत्रज्याति सङ्घसहित थाइल्याण्डका डा नित्ताया फानुफाक र भारतका डा के सुरेशकुमारलाई पनि सम्मान प्रदान गरिएको छ ।
अन्धोपन न्यूनीकरण गर्न निरन्तरता 
नेपाल नेत्रज्योति सङ्घले विगत करिब पाँच दशकदेखि नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरणका लागि निरन्तर कार्य गर्दै आएको छ । देशभर फैलिएको आँखा अस्पताल तथा आँखा उपचार केन्द्रको सञ्जाल, समुदायस्तरमा सञ्चालित आँखा उपचार तथा शल्यक्रिया शिविर, पहुँचभन्दा बाहिर रहेका समुदायसम्म आँखा स्वास्थ्य सेवा पु¥याउने कार्यक्रम तथा प्राथमिक स्वास्थ्य सेवासँग आँखा स्वास्थ्यलाई एकीकृत गर्ने प्रयासमार्फत सङ्घले मानिसको दृष्टि पुनःस्थापना गर्न योगदान पु¥याउँदै आएको छ ।
सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार सङ्घले हालसम्म पाँच करोड दुईलाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया समेत गरिसकेको छ । सङ्घको हाल २८ आँखा अस्पताल, ४४ जिल्ला शाखाका २२६ आँखा उपचार केन्द्रमार्फत नेपाली सहित अन्य विभिन्न विदेशी नागरिकलाई आँखा सेवा प्रदान गरिरहेको छ ।
सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार  मिश्रले भन्नुभयो, “नेपाल नेत्रज्योति सङ्घले समुदायको सहभागिता, साझेदारी र स्थानीय आवश्यकतामा आधारित सेवामार्फत सबैका लागि गुणस्तरीय आँखा स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ काम गर्दै आएको छ । सङ्घको देशव्यापी सेवा प्रणालीले विशेषगरी आर्थिक तथा भौगोलिक रूपमा पछाडि परेका समुदायलाई लक्षित गर्दै निःशुल्क तथा सहुलियतपूर्ण आँखा उपचार र शल्यक्रिया सेवाको पहुँच विस्तारलाई प्राथमिकताका साथ काम गरिरहेका छौँ ।”
‘डब्लुएचओ’ अनुसार नेपालमा अन्धोपनको अवस्था सन् १९८१ मा ०.८४ प्रतिशत रहेकामा सन् २०२०-२१ सम्ममा घटेर ०.२८ प्रतिशत मा पुगेको छ । ‘डब्लुएचओ’ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका अनुसार यस वर्ष सार्वजनिक स्वास्थ्य क्षेत्रका लागि १०२ मनोनयन परेका थिए । सार्वजनिक स्वास्थ्यमा प्रभाव, नवीनता, विस्तारयोग्यता, दिगोपन र समतामूलक पहुँचलगायतका आधारमा वरिष्ठ डब्लुएचओ विज्ञ सम्मिलित छनोट समितिले मूल्याङ्कन गरी अवार्डका प्राप्तकर्ताहरू छनोट गरिएको हो ।
यो सम्मानले नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण तथा सबैका लागि गुणस्तरीय र पहुँचयोग्य आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न नेपाल नेत्रज्योति सङ्घले गर्दै आएको निरन्तर प्रयासको अन्तरराष्ट्रियस्तरमा भएको महत्वपूर्ण सम्मानका रूपमा अर्थ राख्ने जनाइएको छ ।
सङ्घका महासचिव चन्दका अनुसार सङ्घले यस अवार्डलाई सङ्घसँग आबद्ध चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवक, जिल्ला शाखा, आँखा अस्पताल तथा आँखा उपचार केन्द्र, नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार, विकास साझेदार, दातृ संस्था, स्थानीय समुदाय तथा सम्पूर्ण शुभेच्छुकहरूको सामूहिक योगदानको सम्मानका रूपमा लिएको छ ।
अर्कोतर्फ सङ्घले गत आवमा विदेशी बिरामी मार्फत एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याएको छ । यसबाट स्वास्थ्य पर्यटनमा नयाँ सम्भावनाको ढोका समेत खुलेको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले हामीलाई उभ्याएको छः सभापति लामिछाने

‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

यो पनि पढ्नुहोस
सम्बाददाता