धादिङ । बाढीबाट प्रभावित भएका धादिङको गजुरी गाउँपालिकाभित्रका नागरिकहरूलाई राहत स्वरूप ग्यास चुलो उपलब्ध गराइएको छ । गाउँपालिकाका विभिन्न वडाका प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले ८० थान ग्यास चुलो वितरण गरिएको हो ।
पालिकामा उपलब्ध गराइएको ८० थान ग्यास चुलो प्राप्त भएकोमा वडा नम्बर ६ मा ३८ थान, वडा नम्बर ५ मा १८ थान र वडा नम्बर १ मा ६ थान चुलो वितरण गरिएको छ । बाँकी रहेका १८ थान ग्यास चुलो भने नुवाकोटका बाढीपीडितहरूलाई पठाउने तयारी भइरहेको छ ।
विपद्को समयमा पीडित परिवारको चुलो बाल्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो । अभियानलाई सफल बनाउन सूर्यज्योति लाइफका क्षेत्रीय प्रबन्धक जयराम ढुङ्गाना र हाल युएईमा रहेका नवराज ढुङ्गानासहितको टोलीले मुख्य भूमिका निर्वाह गर्नुभएको छ ।
वितरण कार्यलाई सहज बनाउन गजुरी गाउँपालिकाका अध्यक्ष, सम्बन्धित वडाका अध्यक्षहरू, वडा सदस्यहरू तथा स्थानीय सामाजिक अभियन्ताहरूले प्रत्यक्ष सहयोग गर्नुभएको छ ।