धादिङ। देशको मुख्य लाइफलाइन मानिने पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक पुनः सञ्चालनमा आउन अझै १० दिन लाग्ने भएको छ । त्रिशूली नदीको बाढीले कटान गरी सडक भासिएपछि गत भदौ १४ गतेदेखि ठप्प बनेको राजमार्ग सञ्चालनमा ल्याउने प्रयास अझै सफल हुन सकेको छैन ।
सडक खुलाउन पाँच दिनदेखि दैनिक ७ देखि ९ वटा सानाठूला डोजर प्रयोग गरेर निरन्तर काम भइरहेको छ । अहिले भासिएको ठाउँभन्दा कुनापट्टिबाट भित्ता खनेर नयाँ ट्र्याक चौडा गर्ने कार्य जारी छ । तर, कृष्णभीरमा करिब ३०० मिटर लम्बाइको नयाँ ट्र्याक निर्माण गर्नुपर्ने र ४० मिटर उचाइको पहाड काटेर सडकको सतह तल झार्नुपर्ने भएकाले मर्मतको काम सोचेभन्दा जटिल बनेको हो ।
नागढुङ्गा-मुग्लिन सडक आयोजनाका कन्सल्टेन्ट फिल्ड इन्जिनियर अशोक देवकोटाका अनुसार अहिलेकै गतिमा निरन्तर काम गर्न सकिए मात्र अबको १० दिनमा सडक मर्मत गरी सवारी आवागमन गराउन सकिने अनुमान छ ।
भूभाग र जटिल भूगोलका कारण काम भइरहे पनि तत्काल पूर्ण रूपमा सुरक्षित रूपमा गाडी चलाउन भने निकै चुनौती छ ।
सडक सञ्चालनमा ढिलाइ हुँदा काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधनहरू आउजाउ गर्न सकेको छैन । यसले गर्दा सर्वसाधारण र यात्रुहरूले सास्ती खेप्नु परेको छ भने दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत प्रभावित बनेको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङको शीतल बजार, गजुरी गाउँपालिकाको परेवाभीर, छहरा, विहानी पम्प र बाङ्गे क्षेत्रमा समेत सडक भासिने र पहिरो जाने खतरा कायमै रहेको छ ।

