धादिङ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित गजुरी गाउँपालिक वडा नं ५, गलौंदी होल्डिङ सेन्टरमा रहेका ४२ परिवारलाई चाइल्डफण्ड जापानको सहयोगमा आकस्मिक राहत सामग्री वितरण गरिएको छ।
गजुरी गाउँपालिक वडा नं. ५ को समन्वय तथा प्रयास नेपाल,धादिङको व्यवस्थापनमा भदौ २४ गते आयोजित कार्यक्रममा बाढीबाट प्रभावित ४२ परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने गैरखाद्य सामग्रीसहितको पूर्ण प्याकेज हस्तान्तरण गरिएको हो। गजुरी गाउँपालिकाको वडा नं. ५ लगायतका क्षेत्र बाढीबाट प्रभावित भएको विवरण सार्वजनिक भएका छन्।
राहत प्याकेजमा प्रेसर कुकर, कडाइ, डेग्ची, स्टिलका प्लेट तथा बाउल, गिलास, जग, चम्चा, पानी राख्ने बाल्टिन, प्लास्टिक बाटा, रिचार्जेबल सोलार बत्ती, साबुन, डिटर्जेन्ट, टूथपेस्ट, टूथब्रस, तौलिया, २ केस पानी , लामखुट्टे भगाउने सामग्री, त्रिपाल लगायतका दैनिक प्रयोगमा आउने सामग्री समावेश छन्।
त्यसैगरी, परिवारका सदस्यको संख्या तथा उमेर अनुसार कपडाका सामग्री र महिनावारी हुने उमेर समूहका महिलाका लागि आवश्यकता अनुसार स्यानिटरी प्याड समेत उपलब्ध गराइएको छ। यसबाट बाढीपीडित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न तथा विपद्पछिको दैनिक जीवनलाई सहज बनाउन सहयोग पुग्ने वडाअध्यक्ष गोबिन्द लामिछानेले बताउनु भयो ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष गोबिन्द लामिछाने, चाइल्डफण्ड जापानका एरिया म्यानेजर कविराम बाठा मगर, डी।एस अफिसर श्रीकान्त लुइटेल, प्रयास नेपालका अध्यक्ष वीर बहादुर श्रेष्ठ, पूर्व अध्यक्ष रेष्टन कँडेल, कार्यकारी निर्देशक दामोदर अर्याल, सेफ परियोजना व्यवस्थापक सन्तोष सत्याल लगायतको संस्था कार्य समिति सदस्य ,कर्मचारी तथा स्वयंसेवकहरु सहभागिता रहेको प्रयास नेपाल धादिङका प्रशासन तथा बित्त अधिकृत राजन रिजालले जानकारी दिनु भयो । चाईल्ड फण्ड जापानले प्रयास नेपाल धादिङसँगको साझेदारीमा जिल्लाको बेनिघाटरोराङ गाउँपालिकामा शिक्षामा पहुँच सुनिश्चितता परियोजना संचालन गरि रहेको छ ।



