धादिङ । चुलिँदै गएको खाना पकाउने ग्यासको अभाव तत्काल समाधान गर्न सरकारलाई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बोधनारायण श्रेष्ठले उद्योगी–व्यवसायीसँग प्रत्यक्ष बैठक गर्नेदेखि विद्युतीय चुलोमा विशेष छुट दिनेसम्मका सुझाव सरकारलाई दिनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दैनुहुँदै श्रेष्ठले भारतबाट ग्यासको नियमित आपूर्ति भइरहे पनि वितरण प्रणालीमा समस्या देखिएको भन्दै सरकार, नेपाल आयल निगम, ग्यास उद्योगी र व्यवसायीलाई एउटै ठाउँमा राखेर लाइभ बैठक गर्नुपर्ने बताउनुभयो । त्यसबाट ग्यास अभावको वास्तविक समस्या कहाँ छ भन्ने कुरा जनताले समेत थाहा पाउने उहाँको भनाई छ ।
‘मन्त्रालय, त्यसपछि आयल निगम, उद्योगी र व्यापारीहरूलाई राखेर एउटा लाइभ बैठक गरौँ । समस्या कहाँ छ, सम्पूर्ण जनताले थाहा पाऊन्,’ उउहाँले भन्नुभयो ।
भोटेकोशीमा आएको बाढीपछि कृष्णभीरमा सडक पहिरिँदा मुख्य सडक अवरुद्ध भएको छ । यसअघि नै ग्यासको आपूर्तिमा समस्या रहेको काठमाडौं उपत्यकामा सडक अवरुद्ध भएपछि अभाव थप चर्किएको छ । श्रेष्ठले अहिले ग्यास ढुवानी गरिरहेका सवारीको संख्या बढाउन व्यवसायीलाई आग्रह गर्नुभयो ।
उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गर्नुभयो । उपभोक्ताले ओभरस्टक गर्दा बजारमा अभाव थप बढ्ने उहाँको भनाई थियो ।
ग्यासको तत्कालीन अभावसँगै दीर्घकालीन रूपमा ग्यासमाथिको निर्भरता घटाउन विद्युतीय चुलो प्रयोग बढाउनुपर्ने श्रेष्ठको सुझाव छ । सरकारले विद्युतीय चुलो विशेष छुटमा उपलब्ध गराउने योजना ल्याउन सके ग्यासको निर्भरता घटाउन सकिने सांसद श्रेष्ठले बताउनुभयो ।
बाढीपहिरोबाट प्रभावित जिल्लाका लागि पनि छुट्टै सेल बनाएर त्यहाँको आपूर्ति व्यवस्थालाई नियमित गर्नुपर्ने उहाँको सुझाव छ । अन्य क्षेत्रका समस्या हेर्न अर्को छुट्टै सेल बनाउनुपर्ने उहाँले बताउनुभयो ।