धादिङ । भोटेकोसी बाढीले प्रभावित बनेको धादिङको बेनिघाट रोराङ गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकी, गर्भवती तथा सुत्केरी महिला र विद्यालयहरूलाई राहत तथा स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।
भदौ १० गते र १४ गतेको बाढीबाट प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावित बनेकाहरुलाई लक्षित गरी हिमालयन हेल्थ केयरले सामाग्री उपलब्ध गराएको हो ।
प्रशासकीय अधिकृत कुलमणि बस्नेतका अनुसार उपलब्ध गराइएको सामग्रीहरूमा खानेपानी फिल्टर, सुत्केरी र गर्भवती महिलाहरुका लागि ५० सेट हाइजिन किट, राजमार्ग छेउछाउका स्वास्थ्य चौकीहरुका लागि ५ थान एडल्ट र चाइल्ड ब्लड प्रेसर कफ सेट तथा वाटर डिस्पेन्सरहरू रहेका छन् । यी सामग्रीहरू बेनिघाट रोराङ क्षेत्रका स्वास्थ्य चौकी, सडक किनारका स्वास्थ्य संस्था, विद्यालय तथा गर्भवती र सुत्केरी महिलाहरूलाई प्राथमिकताको आधारमा वितरण गरिनेछ ।
खानेपानीका लागि मोटर, ट्यांकी, पाइप तथा बेसिक हेल्थ सेन्टरका लागि ल्याबका सामग्री र औषधिसमेत माग भएकोले स्थानीय स्तरबाट प्राप्त मागहरूको सम्बोधन गर्ने पहल भइरहेको संस्थाले जनाएको छ ।
भेट भएका सुत्कृरी र गर्भवतीहरुलाई आजै सामाग्री उपलब्ध गराइएको र बाँकी रहेका अन्य सामग्रीहरू आवश्यकता र प्राथमिकताका आधारमा वितरण गर्नेगरी बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठलाई हस्तान्तरण गरिएको प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो ।
हिमालयन हेल्थ केयरले केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद र खाद्यान्न गरी करिब २२ लाख बराबर उपलब्ध गराएको थियो ।