सरिता श्रेष्ठ / २ कात्तिक, धादिङ – दशै नजिकिरहदा धादिङको नलाङ र सलाङ गाविसका स्थानीयहरु शौचालय निर्माणमा जुटेका छन् । भूकम्पपछि घरसँगै शौचालय भत्किएका कारण अस्थायी टहरामा बस्दै आइरहेका पीडितहरु अहिले शौचालय निर्माणको काममा भ्याइनभ्याई छन् । उनीहरु दशै अगावै शौचालय निर्माण गरिसक्ने उद्धेश्यका साथ काम सञ्चालन गरिरहेका छन् ।
भूकम्पपछि फाया नेपालले शौचालय निर्माण गर्नका लागि वालुवा, सिमेन्ट, गिट्टी लगायतका सामानहरु वितरण गरिसकेको छ । तर शौचालय बनाउन मुख्य रुपमा आवश्यक प्यान, रड लगायतका सामानहरु वितरण नगर्दा निर्माण कार्यमा केहि ढिलाई भएको स्थानीय बताउँछन् । यता भारतले गरेको नाकाबन्दीले पेट्रोल, डिजेल नभएका कारण गाँउमा शौचालय निर्माणका सामानहरु लैजान नसकिएको फाया नेपालले जानकारी दिएको छ ।
अहिले उनीहरु खाल्टे चर्पी निर्माणमा जुटेका छन् । खाल्टो चर्पी बनाउन सजिलो र छिटो हुने भएका कारण स्थानीयहरु आफै चर्पी बनाउन जुटेका हुन् । चाडपर्वमा आफन्तजनहरुको जमघट हुने भएकाले पनि शौचालय निर्माण कार्य प्राथमिकतामा राखेका हौँ नलाङका झकबहादुर थापा मगर बताउँछन् । उनी भन्छन् अहिलेसम्म घर तथा खेतीपातीको काममा जुट्यौ अब शौचालय निर्माणमा जुटेका छौँ ।
दशैमा टिका लगाउन आफन्तजन आउँने भएका कारण शौचालय बनाउन सुरु गरिएको बताए । आफन्त आएको बेलामा शौचालय नहुँदा लाज नै लाग्ने देखिएका कारण पनि बनाएको स्थानीय सुजन थापा मगरले बताए ।
जिल्ला दैविक प्रकोप उद्धार समितिको प्रतिवेदन अनुसार भूकम्पले नलाङ गाविसमा रहेको २ हजार ३ सय ४५ घरधुरी मध्ये २ हजार २ सय ८३ घरधुरी पूर्ण रुपमा क्षति भएको छ भने २९ घरधुरी आंशिक र ३३ घरधुरी सामान्य क्षति भएको छ । त्यस्तै सलाङ गाविसमा १ हजार ४ सय २९ घरधुरी मध्ये १ हजार ४ सय घरधुरी पूर्ण रुपमा क्षति भएको छ । यी घरहरुसागै शौचालय पनि भत्किएको छ ।