धादिङ । भदौ १० गतेको बाढीले त्रिशूली नदी वारपार गर्ने सम्पूर्ण पुलहरू बगेपछि नुवाकोटको विदुर र त्रिशूली बजारबीचको आउजाउलाई सहज बनाउन आधुनिक तुइन सञ्चालनमा ल्याउन लागिएको छ ।
सर्वसाधारणको सास्तीलाई ध्यानमा राख्दै पूर्वाधार विकास कार्यालय नुवाकोटले इन्द्रेनीघाटमा आधुनिक तथा प्रविधियुक्त तुइन सञ्चालनमा ल्याउन लागेको हो । पूर्वाधार विकास कार्यालय नुवाकोटका इन्जिनियर सन्तोष गिरीका अनुसार शनिबारदेखि तुइन संचालनमा आउनेछ ।
हाल त्यस स्थानमा हातले तान्ने तीन वटा तुइन सञ्चालनमा छ । तर अब भने जेनेरेटर र मोटरको सहायताले चल्ने तुइन संचालनमा ल्याउन लागिएको हो । यसअघि हातले तान्ने तुइनबाट एकपटकमा दुई जनाले मात्र यात्रा गर्न सक्ने अवस्था रहेकोमा अब एकैपटक चार जनाले वारपार गर्न सक्नेछन् ।
हाल तीन वटा पुरानो तुइनबाट दैनिक करिब ४०० जनाले आउजाउ गर्दै आएका छन् । आधुनिक तुइन संचालनमा आएपछि दैनिक ८०० जना भन्दा बढी नागरिकले सजिलै आउजाउ गर्न सक्ने अनुमान गरिएको छ ।
