धादिङ । त्रिशूली नदीमा आएको विनाशकारी बाढीले सबै पुलहरू बगाएपछि नुवाकोटको विदुर र त्रिशूली बजार आउजाउ गर्न स्थानीयहरू तुइनको सहारा लिन बाध्य भएका छन् । बाढीले नदीमाथिका सम्पूर्ण पुलहरू ढालेपछि दुई मुख्य बजारबीचको सीधा सम्पर्क टुटेको छ ।
अहिले विदुर र त्रिशूली जोड्न उर्लंदो नदीमाथि जीर्ण तुइन झुन्ड्याइएको छ । तर, तुइन हाल्ने उपयुक्त र सुरक्षित स्थान नहुँदा स्थानीयले झन् सास्ती खेप्नुपरेको छ । बाढीले नदीका दुवै किनारहरू तीव्र रूपमा भत्काएर छरपस्ट बगर बनाएको छ । यसअघि पक्की पुल रहेका स्थानहरूको नामनिसान नै मेटिएकाले नयाँ पुल वा अस्थायी संरचना निर्माण कहाँ र कसरी गर्ने भन्ने अन्यौल छ ।
किनारै भत्किएका कारण तुइन चढ्ने र ओर्लने स्थानसमेत अत्यन्तै जोखिमपूर्ण छ । हात फुत्किए वा तार चुडिए सिधै त्रिशूलीको उर्लंदो भेलमा खस्ने खतरा छ । अत्यावसेक खाद्यान्न र औषधी नेपाली सेनाले ड्रोन मार्फत पठाइरहेको छ ।

नदीले भूगोल नै बदलेपछि यहाँका बासिन्दा दैनिक उपभोग्य वस्तु आयात गर्न र आवतजावत गर्न ज्यान हत्केलामा राखेर तुइन तर्न विवश छन् ।
घाम र पानीको प्रवाह नगरी तुइनको प्रतीक्षामा घण्टौंसम्म लाइन बस्न बाध्य स्थानीयको पीडादायी दृश्यले प्रभावित क्षेत्रमा राज्यको उपस्थितिको अभाव झल्काएको छ ।
सबै तस्बिरहरु : शंकर श्रेष्ठ








