धादिङ कांग्रेसमा अधिकारीलाई घेराबन्दी, ढुंगाना–धमला सहकार्यले पेचिलो बन्दै प्रतिस्पर्धा
पाविलन्युज

असोज ६, २०८३

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया सुरु भएसँगै धादिङ कांग्रेसमा जिल्ला नेतृत्वका लागि शक्ति–संघर्ष तीव्र बनेको छ ।

वर्तमान जिल्ला सभापति रामनाथ अधिकारीविरुद्ध विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगेका रमेश धमलाले शेरबहादुर देउवा निकट नेताहरूसँग मिलेर नयाँ समीकरण बनाउन थालेको चर्चा छ । नेता शेखर कोइराला निकट रहेका अधिकारीले विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई निर्वाचन आयोगले वैधता दिएसँगै पार्टीको मूल प्रवाहमा रहेर काम गरेका छन् ।

विगतमा एउटै समूहमा बसेर काम गरेका अधिकारी र धमलाबीच २०७९ को निर्वाचनदेखि मनमुटाव बढेको थियो । जिल्ला सभापति अधिकारीले नै त्यतिबेला टिकट पाएपछि धमलाले विद्रोही उम्मेदवारी दिएका थिए । र, वर्तमान सभापति गगनकुमार थापासहितका नेताहरूले पछि उनको उम्मेदवारी फिर्ता गराए पनि दुई नेताबीचमा सम्बन्ध सुमधुर हुन सकेको थिएन ।

No data was found

एकअर्काविरुद्ध प्रतिशोध लिने रणनीतिसहित धमलाले केन्द्रीय नीति विपरीत गएर जिल्लामा समीकरण बनाउँदै अधिकारीविरुद्ध घेराबन्दीको रणनीति गरेका हुन् । नेतृत्व हस्तान्तरण र पुस्तान्तरण भन्दै विशेष महाधिवेशनमा सहभागी धमला अहिले विगतमा पटक–पटक जिल्ला नेतृत्वमा पराजित भीमप्रसाद ढुंगानालाई नेतृत्वमा बोकेर अघि बढेका छन् ।

आफू निकट युवा पुस्ताका नेतालाई पनि विश्वास नगरेका धमलाले २०४८ सालदेखि निरन्तर स्थानीय तहको नेतृत्वमा बसेका पुराना र प्रभाव घट्दै गएका व्यक्तिलाई बोक्न थालेपछि निकटहरू पनि धमलासँग रुष्ट देखिएका छन् । दिलमान पाख्रिनको भूमिकालाई समेत जोडेर विभिन्न राजनीतिक समीकरणबारे चर्चा हुन थालेको भए पनि उनको औपचारिक धारणा र आगामी रणनीति स्पष्ट भइसकेको छैन ।

२०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ जिल्ला अधिवेशनमा अधिकारीले ढुंगानालाई ३६ मतले पराजित गरेका थिए । अधिकारीले १ हजार ८२ मत प्राप्त गर्दा ढुंगानाले १ हजार ४६ मत पाएका थिए । त्यसबेला अधिकारीलाई रामचन्द्र पौडेल पक्ष र ढुंगानालाई शेरबहादुर देउवा पक्षको समर्थन थियो । त्यस निर्वाचनले धादिङ कांग्रेसमा दुई राजनीतिक धारबीचको प्रतिस्पर्धा देखाएको थियो । अहिले भने विगतमा फरक समूहमा रहेका नेताहरूबीच सहकार्यको सम्भावनाले पुरानो समीकरण कायम रहने वा नयाँ शक्ति–संरचना बन्ने भन्ने प्रश्न उठेको छ ।

पुरानो सहकार्यमा दूरी, नयाँ बन्ने सम्भावना
धादिङ कांग्रेसमा अधिकारी र धमलाबीचको राजनीतिक सहकार्यलाई विगतमा महत्वपूर्ण मानिँदै आएको थियो । धमला २०७२ सालमा जिल्ला सभापति बनेका थिए भने २०७८ को अधिवेशनसम्म अधिकारीको पक्षमा थिए ।

तर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनका क्रममा देखिएको उम्मेदवारीसम्बन्धी विवादपछि उनीहरूबीच राजनीतिक दूरी बढेको चर्चा कांग्रेस वृत्तमा हुँदै आएको छ । विशेष महाधिवेशनपछि अधिकारी र धमलाको राजनीतिक भूमिकालाई लिएर पनि फरक व्याख्या हुने गरेको छ ।

विशेष महाधिवेशनको प्रक्रियामा फरक धारमा रहेका नेताहरूबीच अहिले संवाद र सहकार्यको सम्भावना देखिनुले आगामी जिल्ला अधिवेशनको प्रतिस्पर्धालाई थप जटिल बनाउन सक्ने देखिन्छ । यद्यपि, ढुंगाना, धमला र पाख्रिनबीच औपचारिक गठबन्धन बनेको पुष्टि भइसकेको छैन ।

 

अधिकारीका लागि नेतृत्व निरन्तरताको चुनौती
जिल्ला सभापति अधिकारीका लागि आगामी अधिवेशन नेतृत्वको निरन्तरता कायम गर्ने अवसरसँगै संगठनभित्र आफ्नो आधार जोगाउने चुनौती पनि हुनेछ । विगतको अधिवेशनमा ढुंगानामाथि प्राप्त जितले अधिकारीलाई जिल्ला नेतृत्वमा स्थापित गरेको थियो ।

तर, त्यसबेलाको मतपरिणामलाई आगामी अधिवेशनको शक्ति–सन्तुलनको निश्चित आधार मान्न सकिँदैन । वडा, पालिका र क्षेत्रीय अधिवेशनमा प्रतिनिधि चयनको परिणामले नै नेतृत्वको प्रतिस्पर्धालाई प्रभावित गर्नेछ । अधिकारीको पक्षमा रहेका नेताहरूको संगठनात्मक सक्रियता, कार्यकर्तासँगको सम्बन्ध र आगामी अधिवेशनमा बन्ने सहकार्यले उनको राजनीतिक आधार कस्तो रहन्छ भन्ने निर्धारण गर्नेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
33%
😊
खुशी
33%
😢
दुःखी
33%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 3

ताजा खबर

असोज ८ गतेलाई सर्‍यो कांग्रेस धादिङको गाउँरनगर अधिवेशन

विदुर–वेत्रावती सडक खुलाउन अझै केही दिन लाग्ने, दशै अगाडिसम्म स्याफ्रुबेँसी खुलाउने

फुर्केखोलामा पुल तत्काल पुन निर्माण गर्न धादिङका उद्योगी–व्यवसायीको माग

धादिङ कांग्रेसमा अधिकारीलाई घेराबन्दी, ढुंगाना–धमला सहकार्यले पेचिलो बन्दै प्रतिस्पर्धा

गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

यो पनि पढ्नुहोस
पाविलन्युज