धादिङ । फुर्केखोलामा तत्काल पुल निर्माणको माग गर्दै धादिङका उद्योगी–व्यवसायीले सरकारलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि आवतजावत बिच्छेद भएकाले तत्काल पुल निर्माण गर्न सरकारसँग माग गरेका हुन् ।
धादिङ उद्योग वाणिज्य संघको नेतृत्वमा गएका व्यवसायीहरुले फुर्केखोलामा पुल निर्माण गरी धादिङको मध्य तथा उत्तरी क्षेत्रको यातायात सञ्जाललाई पृथ्वीराजमार्गसँग जोड्न सरकारको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाउँदै पुल निर्माण, वैकल्पिक सडक मर्मतसम्भार तथा बाढी प्रभावित उद्योगी–व्यवसायीलाई राहतसुविधासहित पुनःस्थापनाका लागि विशेष कार्यक्रमको व्यवस्था गर्न अनुरोध गरेको छ ।
जिल्लाको आठ स्थानीय तहको पृथ्वी राजमार्गसँगको सीधा सडक सम्पर्क विच्छेद भएकाले सोही स्थानमा तत्काल ‘बेलिब्रिज’को व्यवस्था गर्न माग गरिएको संघका अध्यक्ष रामकुमार डल्लाकोटीले जानकारी दिनुभयो ।
बाढीबाट प्रभावित उद्योगी–व्यवसायीलाई प्राथमिकता दिई बैंक तथा वित्तीय संस्थाबाट लिइएको कर्जाको साँवा–ब्याज भुक्तानीमा कम्तीमा एक वर्षको समय दिन, क्षतिको आधारमा व्याजदरमा सहुलियत प्रदान गर्न, कालोसूचीमा पर्नबाट जोगाउन, नेपाल राष्ट्र बैंकमार्फत् विशेष सहुलियतको व्यवस्था गर्न, जिल्लामा आपूर्ति व्यवस्था सहज तुल्याउन र ज्यान गुमाएका नागरिकका परिवारलाई मृत्यु दर्तालगायत कानुनी प्रक्रियामा सहजीकरण गरिदिन अनुरोध गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

