धादिङ । भदौ १० गतेको बाढीबाट क्षतिग्रस्त विदुर वेत्रावती सडक खुलाउन अझै केही दिन लाग्ने भएको छ ।
विदुरदेखि बेत्रावतीसम्म करिब १० किलोमिटरमध्ये नौ किलोमिटर सडकखण्ड खुलिसकेपनि करिब ३०० मिटर क्षेत्रमा पहिरो र चट्टानका कारण ढिलाइ भएको हो । नेपाली सेना र व्यवसायीहरुले दुवैतर्फबाट ट्रयाक खोल्ने काम गरिरहेको छ । केही दिनमा यातायात सञ्चालन हुने अपेक्षा गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शुम्भु प्रसाद रेग्मीले बताउनुभयो ।
सडकको नक्सानै नरहनेगरी क्षति पुगेका सडकमा नयाँ ट्रयाक बनाएर अघि बढ्नुपर्ने भएकोले अबको तीन हप्तामा स्याफ्रुबेँसीसम्म सडक संजाल जोड्ने लक्षसहित काम भइरहेको छ ।
धादिङको गल्छीदेखि देविघाट, विदुर ढुंगेसम्म अधिकांश स्थानमा सडक मर्मतपछि यातायात सञ्चालन भइरहेको छ । बेत्रावतीसम्म सडक संचालनमा आएपछि बेत्रावती र स्याफ्रुबेँसी दुई स्थानमा बेलीब्रिज जडान गरेर गल्छी–स्याफ्रुबेँसीसम्म यातायात सञ्चालन हुन अझै तीन हप्ता लाग्ने प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई छ ।
सडक विभागका अनुसार बेत्रावतीपछि धुन्चेहुँदै स्याफ्रुबेँसीसम्म पनि सडकमा समस्या छैन । स्याफ्रुबेँसीमा भने एउटा बेलीब्रिज जडान गर्नुपर्नेछ । उक्त स्थानमा ७६ मिटरको बेलीब्रिज जडान गर्नेगरी डिजाइनको काम सुरु गरिएको छ । “स्याफ्रुबेँसीमा करिब ९० मिटरको पुल आवश्यक भए पनि उपलब्ध संरचनाअनुसार ७६ मिटरको बेलीब्रिज प्रयोग गर्ने तयारी गरिएको छ”, विभागले भनेको छ । स्याफ्रुबेँसीबाट रसुवागढीतर्फ करिब १५ किलोमिटर सडक बाढीका कारण पूर्ण रूपमा प्रभावित छ ।
