नुवाकोट (धादिङ) । नुवाकोटको विदुर नगरपालिका–१० आँगिटारका प्रमोद रिजालले रसुवाको बाढीमा आमा, बुवा र छोरी गुमाए । तर, घर ढलेको छैन, घरमा बस्न मिल्ने अवस्था पनि छैन । घरका संरचना भत्किएका छन्, झ्याल, ढोका, भ¥याङ लथालिङ्ग बनेका छन् । उजाड बगरको बीचमा पहिलो तला पुरिएको र तेस्रो तला भाँचिएको घरले सबैको ध्यान तान्छ । त्यो प्रमोदको घर हो ।
आँगिटार पूरै बगरमा बनेको छ । जहाँ भदौ १० गते बिहानसम्म मानिसहरूको चहलपहल थियो, बस्ती थियो, प्रमोदको घर नदीबाट करिब डेढ सय मिटर माथि थियो । वरिपरि २६–२७ वटा घरहरू थिए । तर बाढीपछिल्तिर पूर्वसूचना नआउँदा र अचानक आएको बाढीले सबै तहसनहस बनायो । अहिले त्यहाँ बाढीले थुपारेको बालुवा र गेगर मात्र बाँकी छ ।
विदुरबाट वेत्रावतीतर्फ जाँदै गर्दा भैंसे र तिरतिरे भीर कटेपछि देखिने आँगिटारलाई चिनाउने भनेकै त्यही एउटा घर हो । बेपत्ता भएका आमा, बुवा र छोरी आफ्नो पुरिएको घरभित्रै छन् कि भन्ने आसमा प्रमोद हरेक दिन घर वरपर घुमिरहेका छन् ।
घर नढलेकोले झ्यालढोका फोरेर घरभित्र थुप्रिएका पाँगोमा ‘सास नभए पनि लास भेटिने आस’ अझै बाँकी छ । प्रमोद भन्छन्– ‘बस्तीका सबै घर बगे, घरसँगै मान्छे पनि बगायो । तर, मेरो घर बाँकी भएकोले आमा, बुवा र छोरीको लास भेटिन्छ कि भन्ने अझै आशा छ ।’
हुन त प्रमोदले बेपत्ता परिवारको काजकिरिया पनि गरिरहेका छन् । तर, हरेक दिन बाढीले पुरिएको घर हेरेरै कहिले भक्कानिन्छन् कहिले मन भुलाउन पत्रकारले जस्तै त्यहाँको अवस्था सुनाउँछन् । त्यहाँ पुग्ने र सोध्ने सबैलाई आफ्नो बेपत्ता परिवार र उजाडिएको बस्तीको कहानी बताउँछन् । र पुरिएको घरमा लास खोजिदिन आग्रह गर्छन् ।
बाढी गएको २८ दिनपछि बल्ल सशस्त्र प्रहरीले प्रमोदको गुहार सुनेको छ । सशस्त्र प्रहरी आएर घर सफा गर्न थालेपनि बुधबार साँझसम्म केही पत्ता लागेको छैन । ‘२८ दिनसम्म मेरो कुरा कसैले वास्ता गरेन, आमा, बुवा र छोरी पुरिएको घरभित्रै छन् कि भन्ने झिनो आस बल्ल सशस्त्रले सुन्नुभयो,’ प्रमोदले सुनाए ।
आँखाले देखेसम्मका सबै भाग बगर बनेका छन् । परिवारका प्रियजनहरूको सास भेट्ने आस नरहेकोले उनीहरूको काजकिरिया गरिसकेका छन् । तर मनमा भने अझै पनि ‘सास नभए पनि लास भेटिने आस’ जीवितै छ ।
प्रमोद हरेक दिन बाढीले पुरिएको आफ्नो घरतिर हेर्छन् । कहिले भक्कानिएर रुन्छन् त कहिले मन भुलाउन पत्रकारले झैं त्यहाँको कहालीलाग्दो अवस्था र व्यथा सुनाउँछन् । उनी मानसिक रूपमा विक्षिप्त बनेका छन्, पत्थर बनेर बोल्न बाध्य छन् । तर वर्तमान अवस्थाले उनलाई फर्केर आउने कुनै ठाउँ दिएको छैन ।
‘मैले मेरा जीवनका प्रियजनहरू (बुवा, ममी, छोरी) गुमाएको छु । मैले मेरो जीवनमा घर बनाउन, घडेरी किन्न ५ करोडभन्दा बढीको सम्पत्ति लस भएको छ ।’ प्रमोद भन्छन्, ‘घर सकियो, बस्ती सकियो, बुबा, ममी र छोरी गुमाएँ । तर दिनहुँ यहीँ छु । पत्थर बनेर बोल्नुपरेको छ ।’ क्षति प्रमोदको मात्र होइन, यहाँ त्यस्ता असंख्य व्यक्तिहरू छन् जसको अवस्था यस्तै छ ।
बेत्रावती पुग्ने पहिलो बजार जसलाई आँगिटार नामले परिचित गराउँदै थियो । एउटा इतिहास बोकेको, धार्मिक र ऐतिहासिक महत्वको ठाउँ हो । बाढीपश्चात् तहसनहस बनेको बस्ती फेरि पुनस्र्थापना गर्नुपर्ने आवश्यकता छ । फेरि उठ्न सरकारले सहयोग गरोस् भन्ने प्रमोदको चाहना छ ।


