त्रिशूली (नुवाकोट)। भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट आउनुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रभावितको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्ने बताउनुभएको छ ।
धादिङको गल्छीदेखि नुवाकोटको त्रिशूली बजारसम्म बाढीबाट भएको क्षतिको स्थलगत अवलोकनपछि उहाँले जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्नेभन्दा पनि सुरक्षित भूगोल पहिचान गरी प्रभावितलाई व्यवस्थित रुपमा पुनःस्थापना गर्न सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजकसमेत रहनुभएका नेपालले जलवायु तथा मौसम परिवर्तनका कारण विपद्का घटना बढ्दै गइरहेकाले आगामी दिनमा अझ ठूलो विपद् आउन सक्ने भन्दै पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “बाढीले क्षति पु¥याएका क्षेत्रलाई जोखिमयुक्त भूगोलका रुपमा पहिचान गरी सार्वजनिक प्रयोजनमा कायम राख्नुपर्छ र प्रभावितलाई सुरक्षित स्थानमा व्यवस्थित नयाँ बस्ती निर्माण गरी पुनःस्थापना गर्नुपर्छ ।”
बाढीबाट क्षतिग्रस्त क्षेत्रको अवलोकनपछि पूर्वप्रधानमन्त्री नेपाल विदुर नगरपालिकाको कार्यालयमा आयोजित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाबीचको अन्तरक्रियामा सहभागी हुनुभयो ।
सो अवसरमा उहाँले बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार, राहत तथा प्रभावितको व्यवस्थापनबारे जानकारी लिनुभएको थियो । उहाँले विपद्पछि खोज, उद्धार तथा प्रभावितको व्यवस्थापनमा स्थानीय तहसहित विभिन्न निकायबाट भएका प्रयासको प्रशंसा गर्दै आगामी दिनमा प्रभावितलाई छिटो र सहज रुपमा अस्थायी तथा स्थायी आवासको व्यवस्था गर्न सुझाव दिनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0