धादिङ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले धादिङमा गोपाल विश्वकर्मालाई संयोजक तोकेको छ ।
समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको देउवा समूहले विश्वकर्मालाई संयोजक तोकेको हो ।
संयोजक तोकिएसँगै सदरमुकाम धादिङबेसीमा सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरेको छ । नियमित महाधिवेशन पक्षधर समूहले १५औं नियमित वडा अधिवेशन तयारीको लागि असोज ११ गते जिल्ला भेलाको आयोजना गरेको छ ।
धादिङको १०४ वटै वडाहरूमा १५औं नियमित जिल्ला अधिवेशनबाट ४५ वर्षभन्दा कम उमेरका युवाहरुलाई नेतृत्वमा ल्याउनेगरी अघि बढेको संयोजक विश्वकर्माले बताउनुभयो ।
देउवाले प्रतिपादन गरेको (क, द, म,ज,म)को सिद्धान्त अनुसार १०४ वटा वडाहरुमा जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक र समावेशी अवधारणा अनुसार पार्टीको जिम्मेवारी दिने र निर्वाचित हुने पदको वैज्ञानिक तरिकाले जिम्मेवारी कार्यान्वयन गराउने बताइएको छ ।
देउवा समूहले बागमती प्रदेशको अन्य १० जिल्लामा पनि संयोजक तोकेको छ । दोलखामा ताराबहादुर खड्का, रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल विश्वकर्मा, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भिम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौँमा जयकृष्ण महर्जन संयोजक तोकिएका छन् । दोलखामा जयराम श्रेष्ठलाई सहसंयोजक तोकिएको छ । भक्तपुरमा संयोजक तोकिएका थापा जिल्ला सभापति हुन् ।