काठमाडौँ जोड्ने राजमार्ग बन्दः काठमाडौँमै रोकिए सवारीसाधन
राष्ट्रिय समाचार समिति

असोज ९, २०८३

काठमाडौ । विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका हुन् ।

देशका विभिन्न भागबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने राजमार्ग बन्द हुँदा जनजीवनमा भने समस्या बढ्दै गएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौँ जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक बस काठमाडौँमै रोकिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल पृथ्वी राजमार्ग र बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । काठमाडौँबाट हेटौँडा जाने फर्पिङको बाटो भने सञ्चालन भएकाले साना सवारीसाधन आवतजावत भइरहेको प्रवक्ता सुवेदीले बताउनुभयो ।

No data was found

नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले बिहीबार साँझदेखि गोङ्गबुस्थित नयाँबसपार्कमा सार्वजनिक यातायात रोकिएको जानकारी दिनुभयो ।

“देशका विभिन्न भागबाट काठमाडौँ जोड्ने राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध हुँदा अधिकांश सवारीसाधन नयाँबसपार्कमा रोकिएका छन्”, उहाँले भन्नुभयो ।

यस्तै, बिहीबार बिहानैदेखि मुलुकको सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा अविरल वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौँ उपत्यका भित्रका नदी क्रमशः बढ्न थालेका छन् । नदी बढेसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नदीका करिडोरमा सवारी नरोक्न तथा पार्किङ नगर्न भन्दै माइकिङ गरेको छ ।

यसैगरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पनि भारी वर्षा हुने र राजमार्गमा पहिरो जानसक्ने भन्दै आवश्यक ध्यान दिन सवारी चालकलाई आग्रह गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले वर्षाका कारण राजमार्ग अवरुद्ध हुनसक्ने भन्दै सुरक्षा निकायसँग समन्वय गरेर आवतजावत गर्न सम्पूर्ण व्यवसायी तथा चालकलाई आग्रह गर्नुभयो ।

असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने भन्दै सचेत रहन आम जनतालाई विभिन्न निकायले अपिल गरिरहेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कृष्णभीर र पृथ्वीराजमार्ग अन्तर्गत गजुरी कृष्णभीरसम्म (हेर्नुहोस्)

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ जोड्ने राजमार्ग बन्दः काठमाडौँमै रोकिए सवारीसाधन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति