आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
राष्ट्रिय समाचार समिति

असोज ९, २०८३

काठमाडौँ। मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने बताउनुभएको छ ।

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । नेपाल मौसम विज्ञान विभागका मौसमविद् राजन लामिछानेले पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको जानकारी दिनुभएको छ । उहाँले पाल्पाको अर्चले मौसम मापन केन्द्रमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको बताउनुभयो ।

पछिल्ला दुई दिनदेखि विभिन्न स्थानमा लगातार वर्षा भइरहेको र कतिपय क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएकाले बाढी तथा पहिरोको जोखिम बढेको उहाँको भनाइ छ ।

No data was found

“हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै जानेछ,” मौसमविद् लामिछानेले भन्नुभयो, “आज र भोलि विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढी हुने देखिएको छ, पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जाने र मौसममा सुधार आउने सम्भावना छ ।”

असोज १० गते शनिबारसम्म न्यून चापीय प्रणालीको प्रभाव पश्चिमतर्फ सर्दै जाने र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका क्षेत्रमा वर्षाको गतिविधि बढ्न सक्ने पूर्वानुमान रहेको उहाँले बताउनुभयो ।

असोज ११ गते आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रणालीको प्रभाव कायम रहनेछ ।

असोज १२ गतेदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज १३ गतेदेखि वर्षाको प्रभाव अझ कम हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

मौसमविद् लामिछानेले मौसम प्रणाली निरन्तर परिवर्तन हुनसक्ने भएकाले विभागले यसको निगरानी गरिरहेको र आवश्यकताअनुसार पूर्वानुमान तथा चेतावनी अद्यावधिक गर्दै जाने बताउनुभयो ।

भारी वर्षा भइरहेका तथा चेतावनी जारी गरिएका क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यान दिई अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कृष्णभीर र पृथ्वीराजमार्ग अन्तर्गत गजुरी कृष्णभीरसम्म (हेर्नुहोस्)

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ जोड्ने राजमार्ग बन्दः काठमाडौँमै रोकिए सवारीसाधन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति