धादिङ । बाढी आएको एक महिना पुग्न लाग्दा पनि सडक सम्पर्क सहज हुन सकेको छैन । बाढीबाट तीन जिल्लाका ३७ वटा मोटरेबल पुलमा क्षति पुगेको छ । त्यसमध्ये ३३ वटा पूर्ण रूपमा बगेका छन् भने ४ वटा पुलमा आंशिक क्षति पुगेको छ । पूर्ण रूपमा बगेका पुलमध्ये नुवाकोटमा १४, रसुवामा १३ र धादिङमा ५ वटा छन् । बाँकी एउटा गोरखामा परेको छ । मोटरेबल पुलतर्फ ९ अर्ब ४१ करोड ४४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
झोलुङ्गे पुलमा पनि १ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको सरकारको प्रारम्भिक विवरण छ । यसले नदीपारिका बस्तीबीचको पैदल आवतजावतसमेत कठिन बनाएको छ । पुल र सडक बगेपछि खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउने काम, विद्यार्थीको विद्यालय आवतजावत प्रभावित भएको छ ।
भदौ १० गतेको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा सडक तथा पुलमा भएको क्षतिले आवतजावत प्रभावित छ । त्रिशुली वारपार गर्न वैकल्पिक सडक प्रयोग गर्नुपर्ने, झोलुङ्गे पुलमा मोटरसाइकल तार्नुपर्ने, घण्टौँ पालो पर्खेर तुइनको यात्रा गर्नुपर्ने बाध्यता छ ।
अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले सहज आवतजावतका लागि अझै वैकल्पिक बाटो र अस्थायी संरचनामै निर्भर हुनुपर्ने अवस्था छ ।






