धादिङ । बाढीले पक्की पुलहरू बगाएपछि मोटरसाइकल तार्न प्रयोग हुने त्रिशूली नदीका झोलुङ्गे पुलमध्ये तल्लो मलेखुको झोलुङ्गे पुल सबैभन्दा सहज बनाइएको छ । बेनिघाट रोराङ–३ मलेखु र सिद्धलेक–६ परेवाटार दोभान जोड्ने, सिद्धलेकतर्फको पुलको मुखमा साँघुरो र अप्ठ्यारो घुम्ती भएका कारण जोखिमपूर्ण रहेकोले त्यसलाई स्तरोन्नति गरी सहज बनाइएको हो ।
पुरानो मलेखु हुँदै फिसटार–परेवाटार दोभानको झोलुङ्गे पुल जोड्ने सडकमा दुईपाङ्ग्रे सवारीसाधनमा यात्रा गर्न समस्या भएपछि डोजर प्रयोग गरी सडक स्तरोन्नति गरिएको सिद्धलेक–६ का वडाअध्यक्ष सुरेन्द्र मगरले जानकारी दिनुभयो । बाढीपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको मलेखुको झोलुङ्गे पुलसम्मको बाटो फराकिलो बनाउने काम पूरा भई सञ्चालनमा ल्याइएको वडाअध्यक्ष मगरले जानकारी दिनुभयो ।
अब पैदलयात्रीसँगै मोटरसाइकल र स्कुटरमा यात्रा गर्नेहरूले पुरानो मलेखु हुँदै परेवाटार दोभानको झोलुङ्गे पुल पार गरेर धादिङबेसी आउजाउ गर्न सक्नेछन् ।
फिसटार हुँदै मलेखु आउजाउ हुने यो रुट कुनै समय धादिङ सदरमुकाम आवतजावत गर्ने मुख्य मार्ग थियो । २०५६ सालमा फुर्केखोलामा मोटर गुड्ने पक्की पुल बनेपछि भने यो पुरानो सडकको प्रयोग क्रमशः घट्दै गएको थियो । फुर्केखोलामा पक्की पुल बन्नुअघि फेरिमार्फत सवारी पार गराउने स्थान पनि यही थियो ।