धादिङ । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय धादिङका युवा नेता रूबी भट्टराईले नेपाली कांग्रेस १५औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि (युवा) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
भट्टराई धादिङको सिद्धलेक गाउँपालिका–१, का स्थायी बासिन्दा हुन् । पार्टीभित्र नयाँ पुस्ताको सशक्त प्रतिनिधित्व गर्दै नीति निर्माण तहमा युवा सहभागिता र संगठनलाई समयानुकूल चलायमान बनाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको भट्टराईले बताएका छन् ।
राजनीतिक परिवर्तन र पार्टीका हरेक लोकतान्त्रिक आन्दोलनमा युवाहरूको ऊर्जा र सिर्जनात्मक सोच अपरिहार्य रहेको भन्दै उनले पार्टीलाई गतिशीलता प्रदान गर्न युवामैत्री नीतिको खाँचो औँल्याएका छन् । ‘आजको युग सुशासन, प्रविधि र द्रुत विकासको भएकाले कांग्रेसभित्र पनि युवा नेतृत्वको उपस्थिति निर्णयक हुनुपर्नेछ । पार्टीको विचार र सिद्धान्तलाई युवा पुुस्तामाझ अझै प्रभावकारी रूपमा जोड्न तथा तल्लो तहदेखि नै युवाको नेतृत्व विकासका लागि आफूले पहल गर्ने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेको छु’, भट्टराईले भने ।
विद्यार्थी कालदेखिनै नेपाली कांग्रेसको संगठनात्मक यात्रामा निरन्तर क्रियाशील भट्टराईसँग सांगठनिक नेतृत्वको बलियो अनुभव छ । उनले यसअघि निलकण्ठ मा.वि. इकाई उपाध्यक्ष तथा निलकण्ठ उच्च माध्यमिक विद्यालय इकाई अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) धादिङ निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्दै युवाहरूलाई गोलबन्द गराएका थिए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि, बागमती प्रदेश महाधिवेशन प्रतिनिधि थिए ।