धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–१, नयाँबस्तीमा दोश्रो पटक सिद्दलेक म्हेन्दोमाया कप फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नारासहित नाइन ‘ए’ साइड खुला फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
म्हेन्दोमाया युवा समाज, सिद्धलेक गाउँपालिका–१, धादिङको आयोजना र नयाँबस्ती प्रवासी समाजको सह–आयोजनामा हुन लागेको खुला फुटबल प्रतियोगिता आगामी २०८३ असोज २४ गतेदेखि २७ गतेसम्म हुनेछ ।
म्हेन्दोमाया युवा समाजका अध्यक्ष पेमा छिरिङ लामाका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने टिमले २०८३ असोज २३ गते बेलुकासम्ममा टिम दर्ता गराउनुपर्नेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले रु एक लाख ५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीय हुने टिमले रु. ५२ हजार, तृतीयले रु. २५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट खेलाडीलाई रु. ५ हजार, सर्वाधिक गोलकर्तालाई रु. ३ हजार, र उत्कृष्ट गोलरक्षकलाई रु. ३, हजार ५० नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी भई कार्यक्रमलाई सहयोग गरिदिन खेलाडी तथा खेलप्रेमीहरुलाई आग्रह गरेको छ ।