धादिङ । नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ को अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कुल १७९० प्रतिनिधि मध्ये १७५८ मत खसेको निर्वाचन समितिले दिएको जानकारी दिएको छ । मत मतगणना भने भोली (असोज १५ गते) विहानबाट सुरु गरिने नेपाली कांग्रेसले जनाएको छ ।
अधिवेशनले क्षेत्रीय कार्यसमिति र प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरूको नेतृत्व चयन गर्दैछ भने केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । कांग्रेस धादिङको दुई समुहका उम्मेदवारहरुबीचको प्रतिस्पर्धा रोचक बन्ने आकलन गरिएको छ ।
दुबै समुहले सार्वजनिक गरेको मतपत्र तथा उम्मेदवारहरूको विवरण अनुसार प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा सभापति पदका लागि नवराज तिमल्सिना र राजन बुर्लाकोटीबीच प्रतिस्पर्धा छ ।
त्यसैगरी, प्रदेश सभा २ (क) को सभापति पदका लागि ईश्वर अर्याल र प्रकाश कुमार श्रेष्ठबीच प्रतिस्पर्धा छ ।
प्रदेश सभा २ (ख) को सभापति पदका आशिष किरण अधिकारी र पाण्डव कुमार श्रेष्ठबीच प्रतिस्पर्धा छ ।
यी उम्मेदवारहरूबीचको चुनावी भिडन्तलाई क्षेत्रीय अधिवेशनको रोचक प्रतिस्पर्धाको रूपमा लिइएको छ ।
मतदान सकिएसँगै उम्मेदवारहरू र उनीहरूका समर्थकहरूबीच नतिजा कसको पक्षमा आउने भन्ने विषयमा चासो र उत्सुकता बढेको छ ।
कांग्रेस धादिङ क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशन भने आजबाट सुरु भएको छ । अहिले सहमतिको प्रयास भइरहेको र सहमति नजुटे भोली मतदान हुने कांग्रेस धादिङले जनाएको छ ।